काठमाडौं - नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदान सुरु भएको छ ।
बिहानदेखि सुरु भएको मतदानमा ज्येष्ठ महाधिवेशन प्रतिनिधि शोभाकान्त बरालले गण्डकी प्रदेशको तर्फबाट पहिलो मत खसालेका हुन् ।
मतदानका लागि प्रतिनिधिहरू बिहानैदेखि लाइनमा बसेका थिए। बिहीबारका लागि तय गरिएको मतदान खराब मौसम, प्राविधिक समस्या र राति मतदान गर्दा प्रतिनिधिलाई हुने कठिनाइका कारण शुक्रबार बिहानका लागि सारिएको निर्वाचन समितिले जनाएको छ।
निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालका अनुसार कुल ७ हजार ३१७ महाधिवेशन प्रतिनिधिले मतदान गर्नेछन्। समितिले दिउँसो ३ बजेसम्म मतदान सम्पन्न गर्ने लक्ष्य राखेको छ।
निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काले मतपत्रको संख्या धेरै हुनु र उम्मेदवार तथा मतदाताको चापका कारण मतदान प्रक्रिया प्रभावित भएको बताए। मतपत्रमा हस्ताक्षर गर्न आफूसहित ३२ जना वरिष्ठ अधिवक्ता खटिएको उनले जानकारी दिए।
महाधिवेशन एक दिन लम्बिएपछि प्रतिनिधिहरूको शुक्रबारको होटल बसाइ र खानाको खर्च पार्टीले नै बेहोर्ने भएको छ। आर्थिक व्यवस्थापन समितिका संयोजक उमेश श्रेष्ठले यसको जानकारी दिएका हुन्।
निर्वाचन समितिले प्रतिनिधिको सहजताका लागि प्रदेश तथा समूहअनुसार छुट्टाछुट्टै मतदान केन्द्र निर्धारण गरेको छ।
निर्वाचन समितिले मतदान सम्पन्न भएपछि मतपेटिका सुरक्षित रूपमा सङ्कलन गरी मतगणना सुरु गर्ने तयारी गरेको छ। मतगणना सम्पन्न भएपछि आधिकारिक परिणाम सार्वजनिक गरिनेछ।

.gif)



