काठमाडौं - दसैँतिहारका लागि सार्वजनिक सवारीसाधनको अग्रिम टिकट बुकिङ आजबाट खुला भएको छ । 

यातायात व्यवस्था विभागमा मंगलबार बसेको व्यवसायीलगायत सरोकारवाला निकायको संयुक्त बैठकले चाडपर्वलाई लक्षित गरी आजदेखि लामो तथा मध्यम दूरीका सवारीसाधनका लागि अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको थियो । 

दसैँको अग्रिम टिकट खुल्नुअघि नै काठमाडौंको नयाँ बसपार्कमा गएरातिदेखि नै यात्रुको लामो लाइन लागेको छ ।

नयाँबसपार्क सञ्चालन गर्दै आएको लोत्से बहुउद्देश्यीय प्रालिका महाप्रबन्धक पंकज मल्लले हिजो राति ९ बजेदेखि टिकट लिनका लागि यात्रुले लाइन बस्न सुरु गरेको जानकारी दिएका छन् ।

मल्लले बझाङ, बाजुरा र धनगढी जाने यात्रु हिजो रातिदेखि नै नयाँबसपार्कमा आएर टिकटको लाइनमा बसेको बताए । दसैँको अग्रिम टिकट बुकिङका लागि लोत्से बहुउद्देश्यीय प्रालिले नयाँ बसपार्कमा १५ टिकट काउन्टर थप गरेको छ । 

फूलपातीदेखि पूर्णिमासम्मका लागि रिजर्भ गाडी तथा लामोरमध्यम दूरीका सवारीसाधनलाई नेपालभरका लागि रुट–परमिट खुला हुनेछ ।