कोरोना देखिएपछि चिकित्सक फरार
काठमाडौं - पहिचान लुकाएर पीसीआर परीक्षण गराएका विराट नर्सिङ होम (विराटनगर अस्पताल) का संचालकसमेत रहेका एक चिकित्सक कोरोना संक्रमण पुष्टिपछि फरार भएका छन् ।
नाम, ठेगाना र मोबाइल नम्बर गलत लेखाएकाले ४० घन्टा लगाएर संक्रमित पत्ता लगाइए पनि ती ६५ बर्षीय चिकित्सक सम्पर्कविहीन भइसकेका थिए । संक्रमित चिकित्सकले नै गैरकानुनी व्यवहार गरेको र जोखिमसमेत रहेकाले विराटनगर महानगरले बिहीबार विराट नर्सिङ होम (विराटनगर अस्पताल) लाई सिल गरेको छ ।
अस्पताल सञ्चालकमध्येका ६५ वर्षीय ती चिकित्सकमा मंगलबार कोरोना पोजिटिभ देखिएको थियो । उनले नाम, ठेगाना र मोबाइल नम्बर गलत दिएकाले पत्ता लगाउन हम्मे परेको थियो । ठेगानामा विराटनगर मात्रै उल्लेख भएकाले उनलाई खोज्न ४० घण्टा लागेको महानगरका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले बताए ।
चिकित्सकले स्वाब संकलन गर्ने क्रममा आफ्नो उमेर ५० वर्ष मात्र लेखाएका थिए । उनले टिपाएको मोबाइल नम्बर पनि धनकुटामा कार्यरत एक प्रहरीको पर्न गएको छ । रिपोर्ट पोजिटिभ आएपछि ती चिकित्सक मंगलबार रातिबाटै सम्पर्कविहीन भएका थिए । उनी बिहीबार साँझसम्म महानगरको सम्पर्कमा आएका छैनन् । ‘स्वस्फुर्त रूपमा सम्पर्कमा नआए स्थानीय प्रशासनको सहयोग लिन्छौं,’ कार्कीले भने ।
ती चिकित्सकले संक्रमण पुष्टि भएका दिनसम्म अस्पतालमा बिरामी र कर्मचारीलाई भेटेका कारण अस्पताल सिल गरिएको उनले बताए । ‘बिरामी र कुरुवालाई अस्पताल बाहिर आवतजावत गर्न रोक लगाइएको छ,’ उनले भने, ‘संक्रमितको कन्ट्याक्ट ट्रेसिङ गरी अस्पताललाई सेनिटाइज गर्नेछौं ।’
चिकित्सकको पहिचान लुकाउन समग्र अस्पतालकै भूमिका रहेकाले सेनिटाइज गर्ने सम्पूर्ण खर्च पनि उसैले व्यहोर्नुपर्ने महानगरले निर्णय गरेको छ । झूटो विवरण दिई स्वाब परीक्षण गराएको र पहिचान लुकाएकाले कोभिड १९ मापदण्ड तथा निर्देशिका अनुसार कारबाही प्रक्रिया बढाइने कार्कीले बताए ।
ती चिकित्सकले बुढीगंगा गाउँपालिकामा विराट मेडिकल कलेज तथा शिक्षण अस्पताल पनि सञ्चालन गरेका छन् । संक्रमण पुष्टि भएको दिनसम्म उनी त्यहाँ पनि कर्मचारी, चिकित्सक र बिरामीको सम्पर्कमा पुगेको अस्पताल प्रशासनले जनाएको छ । बुढीगंगाका अध्यक्ष बालचन्द्र माझीले चिकित्सक संक्रमित भएको बिहीबार मात्र जानकारी पाएकाले अस्पतालमा सुरक्षाका उपाय अपनाउन चाँडै निर्णय लिने बताए ।
प्रदेश १ प्रहरी कार्यालय पनि सिल
प्रदेश १ प्रहरी कार्यालयमा कार्यरत ५ जना प्रहरीलाई कोरोना पुष्टि भएपछि कार्यालय सिल गरिएको छ । बुधबार एक प्रहरी अधिकृतमा संक्रमण पुष्टि भएको थियो ।
कन्ट्याक्ट ट्रेसिङका आधारमा बिहीबार ११ जनाको स्वाब परीक्षण गर्दा थप ४ जनामा संक्रमण पुष्टि भएको कार्यालयका प्रवक्ता दीपक पोखरेलले बताए ।
‘बिहीबार थप १ सय ५० जना प्रहरीको स्वाब संकलन गरिएको छ,’ उनले भने, ‘कार्यालय सिल गरेर सेनिटाइज गरिएको छ, सबै जना सेल्फ क्वारेन्टाइनमा बसिरहेका छौं ।’ कार्यालयबाट प्रदान गरिने सेवा अनलाइनबाट दिने व्यवस्था गरेको पोखरेलले बताए ।
कान्तिपुर दैनिकबाट

.gif)



फेसबुक पेज Like गर्नुहोस