काठमाडौं - सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल राजीनामा दिने भएका छन् ।

चुनावमा सहभागी हुने भन्दै उनले आज प्रधानमन्त्री सुशीला कार्की समक्ष आफ्नो राजीनामा बुझाउन प्रधानमन्त्री कार्यालयमा पुगेका छन् ।

राजीनादिए लगत्तै उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्ने तयारीमा छन् । उनीनिकट स्रोतका अनुसार रास्वपाले खरेललाई ललितपुर- २ बाट उम्मेदवार बनाउने भएको छ । आजै युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले मन्त्री पदबाट राजीनामा दिएका थिए ।

यसअघि ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास गरि तिन मन्तालयको जिम्मेवारी सम्हालेका कुलमान घिसिङ पनि राजीनामा दिएका थिए ।

स्रोतका अनुसार प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान अन्तरिम सरकारमा रहेका र राजनीतिक दलसँग प्रत्यक्ष सम्बन्धित तथा चुनावी गतिविधिमा संलग्न मन्त्रीहरूलाई आफ्नो जिम्मेवारी छोडेर चुनावी तयारीमा लाग्न निर्देशन दिएकी थिइन्।