प्रतिनिधि सभा विघटनका सम्बन्धमा पूर्व सभामुखसँग परामर्श गर्दै सभामुख सापकोटा
काठमाडौं - प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले आज पूर्व सभामुखसँग परामर्श गर्ने भएका छन् ।
तीन महिनाको अवधिमा दोस्रो पटक भएको प्रतिनिधि सभा विघटनका विषयमा सभामुख सापकोटाले मंगलबार दिउँसो १ बजे संसद भवन नयाँ बानेश्वरमा पूर्वसभामुखहरूसँग छलफल गर्न लागेका हुन् । बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे पनि छलफल हुनेछ ।
गत वर्षको पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधि सभा विघटन फागुन ११ गते सर्वोच्च अदालतले पुनःस्थापना गरेको थियो भने यही जेठ ८ गते ओलीले दोश्रो पटक प्रतिनिधि सभा विघटन गरेका हुन् । कोरोना महामारीमा सत्ताको खेल भएको भन्दै जुन कदमको चौतर्फी विरोध भैरहेको छ ।
सभामुख सापकोटाले यसअघि नै दोस्रोपटक भएको विघटन असंवैधानिक भएको भन्दै आफ्नो धारणा सार्वजनिक गरिसकेका छन्। सरकारको उक्त कदमविरुद्ध विपक्षी गठबन्धन (नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, सत्तारुढ एमालेकै माधव नेपाल पक्ष, जनता समाजवादी पार्टी जसपाको उपेन्द्र यादव–बाबुराम भट्टराई पक्ष र राष्ट्रिय जनमोर्चा)ले सोमबार सर्वोच्च अदालतमा रिट पनि दर्ता गरिसकेको छ ।
फेसबुक पेज Like गर्नुहोस