सप्तरी - सप्तरीको बोदेबर्साइन नगरपालिका–८ रजकपट्टीस्थित कबिर बाबा मन्दिरका पुजारीको गोली हानी हत्या गरिएको छ ।

७० वर्षीय रामदुलार साहलाई अपरिचित हतियारधारी समूहले शनिबार राति गोली हानी हत्या गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार साह आफ्नै कुटीअगाडि बाटोमा पिसाब गरिरहेको अवस्थामा पछाडिबाट दुई गोली प्रहार भएको थियो । गोली नाभी नजिकै ढाडतर्फ लाग्दा घटनास्थलमै उनको मृत्यु भएको हो ।

घटना जानकारी पाएलगत्तै प्रहरी निरीक्षकको कमान्डमा प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीले घटनास्थल सुरक्षित राखी आवश्यक अनुसन्धान थालेको जनाएको छ।

गोली प्रहार गर्ने व्यक्ति हाल फरार रहेको र खोजीमा टोली खटिएको प्रहरीले जनाएको छ । अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सप्तरी र इलाका प्रहरी कार्यालय कडरवोना दुवैतर्फबाट अतिरिक्त टोली खटाइएको छ।

शव पोस्टमार्टमका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको सप्तरी प्रहरीले जनाएको छ ।