काठमाडौं - हामी नेपाल संस्थाका संयोजक सुदन गुरुङले देशव्यापी विरोध सुरु गर्ने चेतावनी दिएका छन् ।

बिहीबार राति सामाजिक सञ्जालमार्फत सिमरामा भएको शान्तिपूर्ण विरोध कार्यक्रममा सहभागी सम्राट उपाध्यायमाथि गरिएको हातपात प्रकरणमा उनले यस्तो चेतावनी दिएका हुन् ।

उनले उपाध्यायमाथि आक्रमणमा संलग्न मुख्य आरोपीलाई आज बिहान १० बजेसम्म पक्राउ गरेर सार्वजनिक गरिनुपर्ने माग गरे ।

गुरुङले चेतावनी दिँदै भने, ‘हाम्रो शान्तिपूर्ण प्रदर्शनमा आएर हाम्रो सिमराका जिल्ला संयोजक सम्राट उपाध्यायमाथि हात उठाउने मुख्य अभियुक्तलाई भोलि बिहान १० बजेसम्ममा पक्राउ गरिएन भने, देशव्यापी विरोध सुरु गरिनेछ। हाम्रो मौनतालाई हाम्रो कमजोरी नठान्नुहोस्। हामी युवा र देशभक्त नेपाली जनताको शक्ति प्रदर्शन गर्नेछौं।’

उनले सिमरा घटनालाई राजनीतिक संरक्षणमा ढाकछोप गरिए नागरिकको आक्रोश थप चर्किने चेतावनीसमेत दिएका छन् ।