एटीएमबाट एक महिनामै ५४ अर्ब ७६ करोड ६३ लाख निकालियो
काठमाडौं - नेपालमा एटीएम मेसिन सञ्चालनमा ल्याइएको २५ वर्ष भएको छ । २०५२ मा हिमालयन बैङ्कले एटीएम बुथ सञ्चालन गरी नेपालको बैङ्किङ क्षेत्रमा डिजिटल युगको नयाँ अध्याय थपेको थियो तर कार्डको प्रयोग भने त्यसअघि नै नबिल बैङ्कले २०४७ मा नै थालेको थियो ।
एटीएम ल्याइएको सुरुवाती वर्षमा यसको कारोबार नगन्य थियो । प्रयोगकर्तामा ज्ञान पनि थिएन तर त्यो विस्तार भई सन् २०१८ मा प्रतिएक लाख जनसङ्ख्याका लागि करिब १३.७८ एटीएम मेसिन रहेका छन् । सन् २०११ मा यो सङ्ख्या प्रतिलाखका लागि करिब ७.३ थियो । सन् २०१९ डिसेम्बरसम्म ६८ लाख १९ हजार ६०२ डेबिट कार्ड प्रयोगमा रहेका थिए ।
नेपाल राष्ट्र बैङ्कका अनुसार कुल ७५३ स्थानीय तहमध्ये २०७७ असारसम्म ७४७ तहमा वाणिज्य बैङ्कहरूका शाखा विस्तार भएका छन् । ७४७ स्थानीय निकायमध्ये प्रायः सबैमा बैङ्कसँगै एटीएमको पनि पहुँच पुगेको छ ।
हाल प्रायः सबै वाणिज्य बैङ्क मात्र नभई सहकारीले समेत एटीएमबाट ग्राहकलाई सेवा दिन थालेका छन् । एटीएमको प्रयोग व्यापक रहँदा यसको कारोबार बढेको पाइएको छ । हाल नेपालमा तीन हजार ९५० एटीएम मेसिन रहेका छन् ।
कोरोनाका कारण भएको बन्दाबन्दीका कारण बैङ्कहरूले डिजिटल भुक्तानीलाई प्राथमिकता दिँदा यी एटीएमबाट एक महिनामा ५४ अर्ब ७६ करोड ६३ लाख रुपियाँसम्म निकालिएको छ ।
नेपाल राष्ट्र बैङ्कका अनुसार गत असार महिनामा मात्रै ६३ लाख दुई हजारपटकको कारोबारमार्फत एटीएम मेसिनबाटै ५४ अर्ब ७६ करोड ६३ लाख रुपियाँ निकालिएको छ । जुन अघिल्लो महिना ९जेठ०भन्दा १४ अर्ब रुपियाँले बढी हो । जेठ महिनामा ४६ लाख ६३ हजारपटकको कारोबारबाट ४० अर्ब २७ करोड ७० लाख रुपियाँ निकालिएको थियो ।
राष्ट्र बैङ्क भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक भुवन कँडेलका अनुसार वैशाखमा ३४ लाख ८९ हजार कारोबार सङ्ख्याबाट २७ अर्ब ८४ करोड ७० लाख रुपियाँ निकालिएको थियो ।
पछिल्लो समय चेकबुक लिएर बैङ्कका शाखामा लाइन बस्नुपर्ने झन्झटले गर्दा एटीएम कार्डका प्रयोक्ता बढ्दै गएका कारण एटीएममार्फत हुने कारोबार बढ्दो क्रममा छ । पछिल्लो विषम परिस्थितिमा मानिसहरू बैङ्कमा चेक साट्न जाने अवस्था नभएका कारण एटीएमको प्रयोग बढेको हो ।
त्यसैलाई ध्यानमा राखी नेपाल राष्ट्र बैङ्कले जुनसुकै बैङ्कको कार्डबाट जुनसुकै बैङ्कको एटीएम प्रयोग गर्न सकिने र त्यसमा कुनै शुल्क नलाग्ने व्यवस्था मिलाएको छ । त्यसअनुरूप बैङ्कको काउन्टरसम्म पुग्ने, लाइन बस्नेभन्दा पनि टोल छिमेक र पायक परेको ठाउँमा एटीएमबाट पैसा निकाल्ने क्रम बढेको हो ।
राष्ट्र बैङ्कले पछिल्लो समयमा ग्राहकलाई डिजिटल बैङ्किङमार्फत कारोबार गर्न भनिरहेको छ । राष्ट्र बैङ्क भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक कँडेल भन्नुहुन्छ, “एटीएम अत्यावश्यक पर्दा रकम झिक्ने माध्यम हो, यसबाटै लाखौँ लाख रुपियाँ झिकेर कारोबार गर्ने होइन । धेरै रकमको कारोबार गर्नुपर्दा विद्युतीय माध्यमबाट गर्न नै आग्रह गर्दै आएका छौँ । ”
विद्युतीय कारोबार सुनिश्चित गरी सम्भव भएसम्म ग्राहकलाई त्यसतर्फ प्रोत्साहन गर्न पनि राष्ट्र बैङ्कले भनेको छ । साथै राष्ट्र बैङ्कले विद्युतीय माध्यमबाट हुने कारोबारको सुनिश्चितता गरी आफ्ना ग्राहकलाई सकेसम्म विद्युतीय माध्यमबाट कारोबार गर्न सूचित गराउन पनि बैङ्कहरूलाई निर्देशन दिएको छ ।
गोरखापत्र दैनिकबाट

.gif)




फेसबुक पेज Like गर्नुहोस