काठमाडौं - जनतासँग प्रत्यक्ष सम्पर्कमा रहने नेपाल प्रहरी र सशस्त्र प्रहरीका कनिष्ठ तहका प्रहरीहरूमा कोरोना संक्रमण बढ्दै गएको छ । आइतबार मात्रै प्रहरी प्रधान कार्यालयको सवारी महाशाखाका पाँच चालक, अन्य शाखाअन्तर्गतका तीन चालक, सञ्चार निर्देशनालयको मेसमा कार्यरत एक सहयोगीसहित दुई प्रहरी तथा डीआईजी र एसएसपीका दुई निजी चालक गरी १३ जनामा संक्रमण पुष्टि भएको छ ।

आइतबारै प्रदेश प्रहरी कार्यालय विराटनगरका १९ र पछिल्लो एक सातामा झापाको काँकडभिट्टास्थित सीमा सुरक्षा बेसक्याम्पमा कार्यरत २० जनामा संक्रमण पुष्टि भएको थियो । शनिबार मात्रै इलाममा कार्यरत सशस्त्रका ५ र प्रहरीका एक जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको थियो । प्रहरी प्रधान कार्यालयभित्रकै हवल्दारमुनिका प्रहरीमा संक्रमण देखिएपछि सवारी महाशाखा र सञ्चार निर्देशनालयलाई सिल गरिएको छ भने त्यहाँ कार्यरतलाई आइसोलेसनमा राखिएको छ । सञ्चारको मेसमा अन्य शाखाबाट पनि खाना–खाजा खान जाने र त्यहाँ कार्यरतहरूको सम्पर्क अन्य प्रहरीसँग पनि हुने भएकाले प्रहरी प्रधान कार्यालयभित्र संक्रमण फैलिन सक्ने जोखिम बढेको छ । एक उच्च प्रहरी अधिकारीले चालकहरू यात्रा गरिराख्ने र धेरैको सम्पर्कमा पुग्ने भएकाले अवस्था गम्भीर भएको बताए ।

सवारी महाशाखामा कार्यरत एक हवल्दारमा संक्रमण पुष्टि भएपछि उनको सम्पर्कमा आएका अन्यको पनि परीक्षण सुरु गरिएको थियो । सञ्चार महाशाखाको मेसमा कार्यरत एक सहयोगी र मेसका निम्ति आवश्यक सामग्री ल्याउने काममा खटिएका दुई प्रहरीमा भने कसरी संक्रमण देखियो पुष्टि भइसकेको छैन । मेसमा खाना खाने र ती प्रहरीको सम्पर्कमा आएका सबैको ट्रेसिङ प्रहरीले सुरु गरिसकेको छ । स्रोतका अनुसार सञ्चारका तीनै प्रहरीमा ज्वरोसहितको संक्रमणको लक्षण देखिएको छ ।

कान्तिपुरसँग सम्पर्कमा आएका एक उच्च प्रहरीले समुदायसँग जोडिएर काम गरेका, धेरै ओहोरदोहोर गरिरहने काममा भएका र बजारमा किनमेल गर्न जानेहरू संक्रमित भएकाले संक्रमणको फैलावट समुदायमै पुगेको हुन सक्ने आशंका गरे । उनले प्रहरीको संक्रमण स्रोत पत्ता नलागेसम्म ढुक्क हुन सकिने अवस्था नरहेको बताए ।

नक्सालस्थित प्रहरी प्रधान कार्यालयभित्र देखिएको संक्रमण प्रहरीले औपचारिक रूपमा नबताए पनि शनिबार डीआईजी नीरज शाहीले सबै शाखाका प्रमुखहरूलाई बोलाएर संक्रमितहरूको ट्रेसिङ र संक्रमणको जोखिम रोक्न गर्नुपर्ने सम्भावित कदमहरूबारे परामर्श गरेका थिए । स्रोतका अनुसार केही शाखामा कार्यरत प्रहरीलाई १५ दिन काम गर्ने र १५ दिन सेल्फ क्वारेन्टाइनमा बस्ने व्यवस्था मिलाउनेबारे छलफल भइरहेको छ । डीआईजी शाहीका अनुसार अहिले संक्रमण पुष्टि भएका २४ जना प्रहरीको उपचार भइरहेको छ भने यसअघि ९५ प्रहरी संक्रमणमुक्त भएर काममा फर्किसकेका छन् । उनले भने, ‘फिल्डमा खटिने धेरै प्रहरी संक्रमणको जोखिममा छन् । हामीले जोखिमबाट बच्ने प्रोटोकलको कडा पालना गराइरहेका छौं ।’

सशस्त्र प्रहरीका प्रवक्ता राजु अर्यालका अनुसार आइतबारसम्म सशस्त्रका २६ जना संक्रमित उपचाररत छन् भने ४७ जना संक्रमणमुक्त भएर नियमित काममा फर्किसकेका छन् । उनले संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा तैनाथ १८ जना पनि संक्रमणमुक्त भइसकेको बताए ।

जेठको पहिलो साता महानगरीय प्रहरी वृत्त कालीमाटीका दुई प्रहरीमा कोरोना संक्रमण पुष्टि भएपछि त्यहाँ कार्यरत सबै २ सय २५ जनाको पीसीआर परीक्षण गरी वृत्त नै सिलबन्दी गरिएको थियो । प्रहरीका एक उच्च अधिकारीले कालीमाटी वृत्तको घटना सुनाउँदै यसअघि एक जना प्रहरीमा संक्रमण देखिनेबित्तिकै उक्त कार्यालयमा कार्यरत सबैको पीसीआर परीक्षण र द्रुत कन्ट्याक्ट ट्रेसिङ हुने गरेको तर अहिले हेडक्वार्टरभित्रै संक्रमण देखिँदा पनि त्यस्तो द्रुत र व्यापक परीक्षण नगरिएको गुनासो गरे । नेपाल प्रहरी र सशस्त्रजस्तो समुदायसँग दैनिक प्रत्यक्ष सम्पर्कमा नरहेका सैनिकहरूमा समेत संक्रमण देखिएको छ । नेपाली सेनामा एक

वरिष्ठ अधिकारीसहित ७९ जनामा संक्रमण देखिएकामा ७० जना संक्रमणमुक्त भएका छन्, ९ जनाको उपचार जारी छ । सबैको अवस्था सामान्य रहेको सैनिक प्रवक्ता सहायक रथी सन्तोषबल्लभ पौडेलले बताए ।

राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत चार जनामा कोरोना संक्रमण देखिएको थियो । सबै जना उपचारपछि निको भएर काममा फर्किसकेको स्रोतले बतायो । सुरक्षा निकायमा संक्रमणको संख्या बढ्दै गएमा तिनको व्यवस्थापन गर्न सुरक्षा निकायकै ठूलो जनशक्ति खर्च हुने र अन्य काम प्रभावित हुन सक्ने सम्भावना देखिएको छ । सशस्त्र प्रहरीका एक उच्च अधिकारीले जनतासँग जोडिएर काम गर्ने सुरक्षाकर्मीलाई संक्रमणबाट जोगाउन सकिएन भने स्थिति गम्भीर हुन सक्छ ।

सेनाले चैत १० गते रातिदेखि ब्यारेकमा बाहिरी मानिसलाई प्रवेश निषेध गरेको थियो । अत्यावश्यक कामबाहेक प्रहरी र सशस्त्रले पनि देशभरका कार्यालयमा सर्वसाधारणलाई प्रवेशमा कडाइ गरेका थिए तर दैनिक शान्ति सुरक्षा व्यवस्थापन र सीमा नियमनमा सर्वसाधारणसँगै घुलमिल भएर काम गर्नुपर्ने भएकाले संक्रमणको जोखिमको दायरा बढेको देखिन्छ । सेनाका अवकाशप्राप्त रथी बालानन्द शर्माले सुरक्षाफौजमा कोरोना संक्रमण देखिँदा जोखिम उच्च रहने भए पनि तुरुन्त परीक्षण गर्ने प्रविधि, अनुशासन, आन्तरिक व्यवस्थापन र आइसोलेसन सहज भएकाले डराइहाल्नुपर्ने अवस्था नरहेको बताए । ‘सुरक्षा निकायमा यस्तो संक्रमण देखिँदा आत्तिइहाल्नु पर्दैन,’ उनले भने, ‘सुरक्षा अंगलाई नलाग्नु ठूलो कुरो हो, लागिहाले पनि व्यवस्थापन गर्न कठिन छैन । सरकारले पनि परीक्षण र व्यवस्थापनमा फौजलाई विशेष प्राथमिकतामा राख्नुपर्छ ।’ संक्रमणले छोएको थाहा नभएको खण्डमा फौजमा एक जनाबाट सयौंलाई सर्न सक्ने भएकाले विशेष सावधानी आवश्यक रहेको उनले बताए । 

कान्तिपुर दैनिकबाट