काठमाडौं - बलात्कार प्रयासको आरोपमा पुर्पक्षको लागि थुनामा रहेका पूर्वसभामुख कृष्णबहादुर महराको मुद्दा उच्च अदालतमा सुनुवाई हुँदैछ । महराको मुद्दामा सुनुवाई गर्दै यसअघि उच्च अदालत पाटनले जिल्ला अदालत काठमाडौँबाट कैफियत प्रतिवेदन झिकाउन आदेश दिएको थियो ।

संसद सचिवालयमा कार्यरत कर्मचारीलाई जबर्जस्ती करणी गर्ने प्रयास गरेको आरोपमा पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालत काठमाडौँका आदेशविरुद्ध महराले गत मंसिर ५ गते उच्च अदालतमा पुनरावेदन दर्ता गरेका थिए ।

संसद सचिवालयकी कर्मचारीसमेत रहेकी महिलालाई यौन दुर्व्यवहार गरेको अभियोगमा उनलाई काठमाडौं जिल्ला अदालतले मुद्दाको पुर्पक्ष थुनामै रहेर गर्न भन्दै डिल्लीबजार कारागार पठाएको थियो । न्यायाधीश सुर्दशनराज पाण्डेको इजलासले महरालाई गत कात्तिक १८ गते पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।

बिहीबारको सुनुवाइमा उच्चले महरालाई पुर्पक्षका लागि थुनामा पठाउने निर्णय सदर गर्ने वा बदर गर्ने निर्णय गर्ने छ । उच्चले जिल्ला अदालतको फैसला उल्ट्यायो भने उनी थुनामुक्त हुने छन् ।

आजको सुनुवाईको लागि उच्च अदालतका मुख्य न्यायाधीश नहकुल सुवेदी र टेकनारायण कुँवरको इजलासमा पेसी रहेको छ । उच्चले जिल्लाकै आदेश सदर गरेमा उनी थुनामै रहनुपर्ने हुन्छ । उच्चको उक्त आदेशविरुद्ध महरा सर्वोच्च भने जान पाउने छन् । 

महराले आफूविरुद्ध लागेको आरोप अस्वीकार गर्दै आएका छन् । उनले आफू बलात्कारका लागि नभई सम्झाउन पुगेको तर आफूमाथि गलत आरोप लगाएको भन्दै आफ्नो बचाउ गर्दै आएका छन् ।