काठमाडौं - कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ले राज्यबाट न्याय नपाएको गुनासो गर्दै आफू फेरि अमेरिका फर्किएको बताएका छन् ।

बिहीबार बिहान सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै कट्टेलले दुई महिनासम्म न्यायका लागि राज्यका विभिन्न निकायमा धाउँदा पनि आफ्नो आवाज नसुनिएको गुनासो गरेका हुन् ।

छोरीसहित नेपाल फर्किएर आफ्नै माटोमा दुःख–सुख साट्दै फेरि दर्शकलाई हँसाउने सपना बोकेको भए पनि राज्यबाट न्याय नपाएपछि आफू निराश भएर अमेरिका फर्किन बाध्य भएको उनले बताएका छन् ।

‘यसपटक त शतप्रतिशत न्याय पाउनेछौँ, आफ्नै माटोमा दुःख–सुख साट्नेछौँ र पहिलेजस्तै फेरि हजुरहरूलाई हँसाउनेछौँ भन्ने ठूलो सपना बोकेर छोरीसहित मातृभूमि फर्किएको थिएँ,’ उनले लेखेका छन्, ‘दुई महिना अथक प्रयास गरेँ। राज्यका ढोका–ढोका पुगेँ। न्यायको आशामा राज्यलाई गुहारेँ। तर न राज्यले मेरो आवाज सुन्यो, न त आफ्नो पीडा मन खोलेर सुनाउने अवसर नै पाएँ।’