काठमाडौं - देशभर आजदेखि दोस्रो आर्थिक गणना हुँदैछ । त्यसका लागि देशभर नै गणक तथा आवश्यक सुपरिवेक्षक सम्बन्धित क्षेत्रमा पुगिसकेका राष्ट्रिय तथ्यांक कार्यालयले जनाएको छ ।

कार्यतालिकाअनुसार स्थलगत तथ्यांक संकलनको काम आगामी असारको पहिलो साताभित्र सम्पन्न हुनेछ । गणनाका लागि करिब पाँच हजार जनशक्ति परिचालित गरिएका छन् । 

सो गणनामा आर्थिक क्षेत्रका १८ वटा क्षेत्रको आधारभूत विवरण संकलन हुनेछ । गणनाबाट उद्योग, व्यवसाय, सेवा क्षेत्र, सहकारी तथा निजी क्षेत्र सार्वजनिक संस्थाको संख्या, प्रकार, लगानी, रोजगारी, उत्पादन र सेवा प्रवाहसम्बन्धी विवरण संकलनको उद्देश्य राखिएको छ ।

देशभर रहेका दर्ता भए, नभएका ठूला साना, व्यापार प्रतिष्ठान, रोजगारीका हिसाबले धेरै रोजगारी दिएका वा स्वरोजगार प्रतिष्ठानको तथ्यांक संकलन गरिने छ । त्यस्तै, उद्योग, कलकारखाना, व्यापार र व्यवसाय, गैरसरकारी संघसंस्था, सरकारी संस्थान, सरकारी वा निजी विद्यालय, अस्पताल लगायतको गणना गरिने छ ।

उक्त गणनाको प्रतिवेदन आर्थिक वर्ष २०८३/८४ मा सार्वजनिक गरिने कार्यालयका उप प्रमुख तथ्यांक अधिकारी ढुण्डिराज लामिछानेले बताए ।

आर्थिक गणना तयारीको पूर्वचरणका काम गत फागुन मसान्तमा सम्पन्न भइसकेका छन् । चैतको सुरुआतमा ७७ जिल्ला र थप सात गरी ८४ कार्यालय स्थापना गरिएका छन् ।

ती कार्यालय आगामी असार मसान्तसम्म सञ्चालन हुनेछ । यसअघि विसं २०७५ मा राष्ट्रिय आर्थिक गणना गरिएको थियो ।