काठमाडौं - ३ दिनदेखि शुरू भएको वर्षाका कारण देशभरका विभिन्न स्थानमा बाढी, पहिरो र डुबानले जनजीवन प्रभावित बनेको छ ।

वर्षा शुरू भएसँगै बाढीपहिरोबाट धनजनको क्षति बढ्दै गएकाले गृह मन्त्रालयअन्तर्गत राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण मुख्यतः सूचना प्रवाह, उद्धार र राहतमा केन्द्रित भएको छ ।

प्राधिकरणले सूचना प्रवाहअन्तर्गत हरेक दिन देशभर भएका घटनाको सारांश, सडक अवरोध, प्रतिकार्य र बाढीको अनुमान गर्दै बुलेटिन प्रकाशन गर्न थालेको छ । कुन नदीमा बहाव कति बढ्यो, खतरा लेभल पार गर्‍यो कि गरेन, कति वर्षा भयो भन्ने सूचना मौसम पूर्वानुमान महाशाखाले तल्लो तहसम्म सूचना प्रवाह गर्दै आएको छ । त्यसले गर्दा समयमै मान्छेको ज्यान तथा धनसम्पत्ति जोगाउन सक्ने भएकाले मन्त्रालयले सूचना प्रवाहलाई प्राथमिकता दिएको बताइएको छ ।

सूचना प्रवाहलाई सरकारले पूर्व तयारीको एउटा पाटोका रुपमा लिएको बताउँदै गृह मन्त्रालयमा विपद् व्यवस्थापन हेर्ने सहसचिव इन्दु घिमिरेले भनिन्, ‘सूचनाका आधारमा जोखिम क्षेत्रमा खोज तथा उद्धारका सामग्रीसहित सुरक्षाकर्मी परिचालन गर्दै आएका छौं ।’

प्राकृतिक प्रकोप तथा विपद्मा परेकाहरूको खोज तथा उद्धारका लागि तालिम प्राप्त सशस्त्र, नेपाल प्रहरी र नेपाली सेनाका सुरक्षाकर्मी ठाउँठाउँमा परिचालन गरेको जानकारी दिँदै सहसचिव घिमिरले भनिन्, ‘तटीय क्षेत्र तथा जोखिम क्षेत्रमा सुरक्षाकर्मी स्थानीय प्रविधि प्रयोग गर्ने हिसाबले सतर्क अवस्थामा राखेका छौं ।’

प्राधिकरणले पत्रकार सम्मेलन गरी आइतवार साउन ४ गतेदेखि ८ गतेसम्म देशभर सबै ठाउँमा वर्षा हुने सम्भावना रहेको जनाएको थियो । देशका विभिन्न स्थानमा सामान्यदेखि भारीसम्मको वर्षाले तराई मधेशका अधिकांश स्थानमा बाढी तथा डुबानको समस्या देखिएको छ ।

पहाडी भेगमा पनि बाढी र पहिरोको समस्या देखिएको छ । साउन ५ देखि ८ गतेसम्म प्रदेश १, २, बागमती, गण्डकी, प्रदेशका कन्काई, तमोर, सुनकोसी, सप्तकोसी, कमला, बागमती, बूढीगण्डकी, सेती, मस्र्याङ्दी, कालीगण्डकी तथा तिनका सहायक नदीमा उल्लेख्य मात्रामा जलसतह बढ्ेको मन्त्रालयले जनाएको छ । केही नदीले सतर्कता तह पार गरेको प्राधिकरणले जनाएको छ ।

ती प्रदेशका मध्यपहाडी तथा चुरे र तराई भई बग्ने स–साना नदीनालामा साउन ९ गतेसम्म नै आकस्मिक बहावको सम्भावना रहेकाले आवश्यक पूर्व तयारी तथा विशेष सतर्कता अपनाउन थालिएको छ ।

साउनको ५ देखि ७ गतेसम्म प्रदेश ५ को तिनाउ, पश्चिम राप्ती तथा बबई नदी र यसका सहायक नदी तथा कर्णाली प्रदेशको भेरी, पश्चिम सेती र यसका सहायक नदीमा समेत बहाव बढ्ने सूचना मौसम पूर्वानुमान महाशाखाले प्रवाह गरेको छ ।

प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका मध्यपहाडी तथा चुरे र तराईबाट बग्ने केही साना नदीनालामा समेत आकस्मिक बहाव आउने सम्भावना रहेको महाशाखाको अनुमान छ ।

यसपटक तराईमा डुबान तथा बाढीका लागि १९१ मोटरबोट र रबरबोटसहित सुरक्षाकर्मी तयारी अवस्थामा रहेको उनले जानकारी दिए । गृह मन्त्रालयका अनुसार प्राकृतिक प्रकोपपछिको उद्धारका लागि देशका ५ स्थानमा नेपाली सेनाको हेलिकप्टर तयारी अवस्थामा राखिएको छ । सुर्खेत, पोखरा, भरतपुर, इटहरी र काठमाडौंमा हेलिकोप्टर तयारी अवस्थामा छन् ।

विपत्तिमा परिसकेपछि गाडी जान नसक्ने एवं गम्भीर अवस्थाका लागि हेलिकोप्टर तयारी अवस्थामा राखिएको सहसचिव घिमिरेले जानकारी दिइन् । मन्त्रालयले सुरक्षाकर्मीलाई राहतका लागि पनि तयारी अवस्थामा राखिएको जनाएको छ ।

‘प्राकृतिक प्रकोप तथा विपद्बाट घरबार तथा परिवारका सदस्य गुमाइसकेपछि सरकारले तत्कालीन तथा दीर्घकालीन राहत दिन्छ । तात्कालीक खर्च भनेको किरिया बस्न अथवा अस्थायी घर तथा खानाका लागि दिइन्छ भने दीर्घकालीन भनेको घर निर्माण तथा पुनःस्थापनाका लागि हुन्छ,’ सहसचिव घिमिरेले भनिन् ।

राहत वितरणको काम प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा रहेको जिल्ला विपद् व्यवस्थापन समितिले गर्छ । ‘रेडक्रस, स्थानीय तह, प्रदेशसँग समन्वय गरेर तत्काल आवश्यक राहत दिइरहेका छांै’, सहसचिव घिमिरेले भनिन्, ‘जिल्ला जिल्लामा राहत सामग्री स्टोर गरिएको छ ।’ सरकारी तथा गैरसरकारी संघसंस्था, रेडक्रमसकर्मी, निजी क्षेत्रलाई समेत तयारी अवस्थामा रही तुरुन्त परिचालन हुने अवस्थामा रहन पनि मन्त्रालयले भनेको छ ।

पहिरोमा परी दिदीभाइको मृत्यु

अविरल वर्षाका कारण आएको पहिरोमा परेर टोखा नगरपालिका–१ टासीडाँडाका २ बालबालिकाको मृत्यु भएको छ । मंगलवार दिउँसो खाना खान लागेको बेला गएको पहिरोमा परेर जुम्ल्याहा दाजुबहिनीको मृत्यु भएको महानगरीय प्रहरी वृत्त महाराजगन्जका प्रहरी नायब उपरीक्षक रोशन खड्काले जानकारी दिए ।

बुवाआमा भने सकुशल रहेका छन् । पहिरोमा परी सचिन राना मगर र सन्ध्या राना मगरको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । 

नेपाल समाचारपत्र दैनिकबाट