काठमाडौं - तालिबानले इस्लामिक कानूनमा पनि महिलाहरुको अधिकार सुरक्षित रहने बताएको छ । 

अफगानिस्तान नियन्त्रणमा लिन सफल भएसँगै पहिलोपटक पत्रकार सम्मेलन गर्दै तालिबानका प्रवक्ता जबिहुल्लाह मुजाहिदले आफूहरू शरिया कानुनका आधारमा महिलाहरूको हक अधिकारप्रति प्रतिबद्ध रहेको जानकारी दिएका हुन् । ‘उनीहरूले हामीसँग काँधमा काँध मिलाएर काम गर्नेछन्। हामी अन्तर्राष्ट्रिय समुदायलाई विश्वास दिलाउन चाहन्छौँ कि भेदभाव गरिनेछैन’ उनले भनेका छन्, ‘उनीहरू शिक्षा, स्वास्थ्य र अलग अलग क्षेत्रमा काम गर्नेछन् ।’ 

सन् १९९६ देखि २००१ सम्म अफगानिस्तानमा आफ्नो नियन्त्रण रहँदा तालिबानले महिलाहरुले शरीर सबै ढाक्ने बुर्खा लगाउनु पर्ने तथा १० वर्ष र सो माथिका छात्राहरु विद्यालय जान नपाउने नियम लागु गरेको थियो । 

मंगलबार भएको पत्रकार सम्मेलनमा प्रवक्ता मुजाहिदले आफ्नो सांस्कृतिक ढाँचाभित्र रहेर सञ्चारमाध्यमप्रति प्रतिबद्ध रहेको विश्वास दिलाउन चाहेको पनि जनाएका छन् । ‘निजी क्षेत्रका सञ्चारमाध्यमहरू स्वतन्त्र र निष्पक्ष रहिरहन पाउनेछन्’ उनले भने । तालिबान नेतृत्वले विदेशी संस्थाहरूसँग काम गरेका ठेकेदार र दोभासेहरूसँग बदला नलिइने उनको भनाई छ । 

त्यस्तै, प्रवक्ता मुजाहिदले २० वर्षको सङ्घर्षपछि देशलाई मुक्त गरेको र विदेशीहरूलाई निकालेको पनि प्रतिक्रिया दिएका छन् । उनले भने, ‘यो पूरै देशका लागि गर्वको क्षण हो ।’ ‘अफगानिस्तान अब द्वन्द्वको रणभूमि नहुने हामी सुनिश्चित गर्न चाहन्छौँ ।’ उनले थपे,‘हामीविरुद्ध लडेका सबैलाई हामीले माफी दिएका छौँ। हामी बाह्य वा आन्तरिक शत्रु चाहँदैनौँ ।’