काठमाडौँ - भारतको बिहारस्थित वैशाली जिल्लाको राघोपुर क्षेत्रमा गंगा नदीमा डुंगा पल्टिँदा कम्तीमा १३ बालबालिकाको मृत्यु भएको छ ।
मंगलबार राति भएको दुर्घटनामा डुंगामा सवार सात जनाको उद्धार गरिएको बीबीसीले लेखेको छ ।
स्थानीय बासिन्दाहरू भोजमा सहभागी हुन अर्को गाउँ जाने क्रममा दुर्घटना भएको हो । भगतान टोलअन्तर्गत रामपुर श्यामचन्द पञ्चायतको माता महारानी स्थाननजिक सिंहेश्वर रायको घरमा आयोजित भोजमा सहभागी हुन करिब २० जना सानो डुंगामा सवार थिए ।
वैशालीकी जिल्ला अधिकारी वर्षा सिंहका अनुसार उद्धार गरिएका सात जनालाई नालन्दा मेडिकल कलेज तथा अस्पताल पठाइएको थियो । घाइतेमध्ये केहीलाई थप उपचारका लागि पटनासमेत रेफर गरिएको छ । डुंगामा सवार सबै बालबालिकाको उमेर १५ वर्ष वा सोभन्दा कम रहेको उनले बताइन् ।
दुर्घटनापछि रातभर उद्धार कार्य जारी राखिएको थियो । घटनास्थलमा राज्य विपद् प्रतिकार्य बल ९एसडीआरएफ० र स्थानीय गोताखोर परिचालन गरिएको थियो । उद्धारका क्रममा १३ जनाको शव फेला परेको जिल्ला अधिकारी सिंहले जानकारी दिइन् ।
घटनाको अवस्था बुझ्न स्थानीय अस्पताल पुगेकी जिल्ला अधिकारी सिंहविरुद्ध आक्रोशित स्थानीयले नाराबाजीसमेत गरेका थिए ।
दुर्घटनाप्रति दुःख व्यक्त गर्दै बिहारका मुख्यमन्त्री सम्राट चौधरीले मृतकका परिवारलाई राज्य सरकारका तर्फबाट प्रतिपरिवार चार लाख भारतीय रुपैयाँ राहत दिने घोषणा गरेका छन् । उनले उद्धार कार्य तीव्र बनाउन र घाइतेलाई गुणस्तरीय उपचार उपलब्ध गराउन प्रशासनलाई निर्देशनसमेत दिएका छन् ।

.gif)



