काठमाडौं - आईसीसी विश्वकप लिग–२ अन्तर्गत अन्तिम शृंखलाको दोस्रो खेलमा नेपालले ओमानलाई ११३ रनले पराजित गरेको छ।

ओमानको अल अमेरत क्रिकेट मैदानमा मंगलबार भएको खेलमा नेपालले दिएको २६४ रनको लक्ष्य पछ्याएको ओमान ४० ओभरमा १५० रनमै अलआउट भयो।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २६३ रन बनाएको थियो। जवाफमा ओमानका ब्याटर नेपाली बलरसामु टिक्न नसक्दा नेपालले फराकिलो जित निकाल्यो।

ओमानका लागि कप्तान विनायक शुक्लाले सर्वाधिक ७७ रन बनाए। उनले ८३ बलमा ६ चौका र एक छक्का प्रहार गरे। एकपछि अर्को विकेट गुमाइरहेको ओमानको पारी सम्हाल्ने क्रममा शुक्लाले सातौं विकेटका लागि जय ओडेरासँग ८३ रनको साझेदारी गरे। तर, दीपेन्द्रसिंह ऐरीले उक्त साझेदारी तोडेपछि ओमानको जितको सम्भावना समाप्त भयो।

जय ओडेराले २५ तथा ओपनर जतिन्दर सिंहले १८ रन बनाए। त्यसबाहेक ओमानका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

नेपालका लागि नन्दन यादव र सन्दीप लामिछानेले समान तीन–तीन विकेट लिए। दीपेन्द्रसिंह ऐरीले दुई विकेट लिँदा करण केसी र ललित राजवंशीले एक–एक विकेट हात पारे।

यसअघि नेपालको ब्याटिङमा कप्तान रोहितकुमार पौडेलले सर्वाधिक ६१ रन बनाए। उनले ६७ बलमा तीन चौका र एक छक्का प्रहार गरे। चौथो विकेटका लागि वसिर अहमदसँग ८६ रनको साझेदारी गर्दै रोहितले नेपालको मध्यक्रम सम्हालेका थिए।

२७ ओभरमा तीन विकेट गुमाएर १०० रन बनाएको नेपाललाई रोहित र वसिरको साझेदारीले बलियो अवस्थामा पुर्‍याएको थियो। वसिरले ३७ रन बनाए।

ओपनर अर्जुन कुमालले ४० रन बनाए भने इशान पाण्डेले ३७ रन जोडे। दोस्रो विकेटका लागि अर्जुन र इशानले ६४ रनको साझेदारी गरेका थिए। दीपेन्द्रसिंह ऐरीले २२ र सन्दीप जोराले १० रन बनाए। अर्का ओपनर आसिफ शेख भने चार रनमै आउट भए।

नेपालको इनिङ्सको अन्त्यतिर करण केसीले आक्रामक ब्याटिङ गरे। उनले १६ बलमा चार छक्कासहित ४० रन बनाए।

४९औँ ओभरमा हुसैन शाहलाई लगातार तीन छक्का प्रहार गरेका करणले नेपाललाई प्रतिस्पर्धात्मक योगफलमा पुर्‍याउन महत्त्वपूर्ण योगदान दिए। नेपालले ४८ ओभरसम्म सात विकेट गुमाएर २२७ रन बनाएको थियो।

करणको विस्फोटक ब्याटिङले उक्त ओभरमा २५ रन थपिएपछि नेपालको स्कोर २५० पार पुगेको थियो। नन्दन यादव सात रनमा अविजित रहे।

ओमानका लागि शाह फैजल, सकिल अहमद र करण सोनाभले समान दुई–दुई विकेट लिए। हसन शाहले एक विकेट लिए।

नेपालले यसअघि पहिलो खेलमा क्यानडालाई २४ रनले पराजित गरेको थियो। ओमानविरुद्धको जितसँगै नेपालले लिग–२ को अंकतालिकामा थप दुई अंक जोडेको छ। ३४ खेलबाट २८ अंक जोडेको नेपाल तालिकाको छैटौँ स्थानमा रहेको छ।