एमालेको ११औँ महाधिवेशन: तयारी अन्तिम चरणमा, शनिबार सल्लाघारीमा भव्य उद्घाटन
काठमाडौं - नेकपा एमालेको ११ औँ महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ ।
भक्तपुरको सल्लाघारीस्थित नेपाल ट्रष्टको १ सय ८ रोपनी चौरमा निर्माणको काम अन्तिम चरणमा पुगेको हो । मङ्सिर २७ देखि २९ गतेसम्म हुने महाधिवेशनको उद्घाटन सत्र सल्लाघारीमा हुने भएको हो ।
देशका विभिन्न जिल्लाबाट आएका प्रतिनिधिहरूले उद्घाटन स्थल अवलोकन, तथा पार्टी कार्यालयमा भेटघाट, भिडियो कैद, सामाजिक सञ्जालका सामग्री निर्माणजस्ता गतिविधिमा सक्रिय छन् । महाधिवेशन प्रतिनिधिहरू आजसम्म करिब सबै आइसक्ने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।
उद्घाटन स्थल विश्व सम्पदा सूचीमा परेको चाँगुनारायण मन्दिरको स्थापत्य झल्किने गरी मल्लकालीन शैलीमा निर्माण हुँदै छ ।
करिब ३० वटा अस्थायी शौचालय, प्रवेशद्वार तथा आवश्यक अन्य संरचनाहरू बनाउने काम अन्तिम चरणमा पुगेको छ ।
त्यस्तै उद्घाटनका दिन झाँकी प्रदर्शन गर्ने गेट, प्रमुख अतिथि तथा विशिष्ट अतिथिहरूका लागि छुट्टै प्रवेशद्वार र सर्वसाधारणका लागि पृथक् गेट निर्माण हुँदै छ ।
उद्घाटन समारोहमा प्रमुख दर्शक स्थलतर्फ २५ हजार कुर्सी राखिने र एमालेसहित विभिन्न दलका शीर्ष नेता, विदेशी कूटनीतिक नियोगका तीन लाख जना प्रतिनिधिसम्म अट्ने गरी व्यवस्था मिलाइएको छ ।
कार्यक्रम भव्य र अनुशासित बनाउन १० हजार नेशनल भोलेन्टियर्स तथा अन्य जनसंगठनका स्वयंसेवक परिचालन गरिनेछ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस