काठमाडौं - अभिनेता सुशान्तसिंह राजपुतको आत्महत्या आठ जना बलिउडकर्मीका कारण भएको भन्दै मुद्धा परेको छ । बलिउड अभिनेता सलमान खान, निर्माता तथा निर्देशकहरू करन जोहर, एकता कपुर तथा सञ्जयलीला भन्सालीसहित अन्य आठ जनाविरूद्ध फौजदारी मुद्दा परेको हो । एक वकिलले उनीहरूलाई अभिनेता सुशान्तको मृत्युको कारण भन्दै बुधबार बिहार अदालतमा मुद्दा दायर गरेका हुन् ।

भारतीय सञ्चारमाध्यम टाइम्स अफ इन्डियाका अनुसार वकिल सुधिरकुमार ओझाले सलमान, करनसहित आठ जनाका विरूद्ध मुद्दा दायर गरेका हुन् । अदालतले आगामी जुलाई ३ को सुनुवाइ मिति दिएको छ । ओझाले दायर गरेको मुद्दामा आदित्य चोपडा, साजिद नाडियडवाला, भुषण कुमार र निर्देशक दिनेशको समेत नाम रहेको छ ।

यी आठ व्यक्तिले सुशान्त अभिनीत चलचित्र रिलिज हुन बाधा पैदा गरेको र यिनीहरूकै कारण सुशान्तलाई फिल्मी कार्यक्रमहरूमा पनि बोलाउन छाडिएको मुद्दामा उल्लेख छ । वकिल ओझाका अनुसार उनले सेक्सन ३०६, १०९, ५०४ र ५०६ अन्तर्गत मुद्दा दायर गरेका हुन् ।

यसका साथै उनले साक्षीको सूचीमा अभिनेत्री कंगना रनावतको नाम राखेका छन् । अभिनेता सुशान्तले गएको आइतबार मुम्बईस्थित आफ्नै फ्ल्याटमा आत्महत्या गरेका थिए । उनी लामो समयदेखि डिप्रेसनमा रहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।