काठमाडौं-फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले दल दर्ता आह्वान गरेको २१ दिनमा जम्मा दुई दल अध्यावधिक भएका छन् ।

आयोगको वेबसाइटमा अध्यावधिक गरेको दल दर्ताको सूचीमा असोज २४ गते राष्ट्रिय जनमुक्ति पार्टी र असोज २८ गते जनस्वराज पार्टी रहेका छन् ।

राष्ट्रिय जनमुक्ति पार्टीको अध्यक्षमा केशवबहादुर थापा रहेका छन् । जनस्वराज पार्टीको अध्यक्षमा दीपक कुमार साह रहेका छन् ।

आयोगले निर्वाचनमा भाग लिने राजनीतिक दलहरूलाई मंसिर १ देखि १० गतेसम्म दल दर्ताको समय दिएको छ । आयोगमा दर्ता कायम रहेका राजनीतिक दलले मात्र निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न पाउने कानुनी व्यवस्था रहेको हुँदा निर्वाचनमा भाग लिन चाहनेले कात्तिक ३० गते अगावै दल दर्ताको प्रमाणपत्र लिइसक्नुपर्नेछ ।

आयोगमा अहिलेसम्म १२४ दल दर्ता अद्यावधिक भएको छ । निर्वाचन घोषणापछि ६ वटा राजनीतिक दलले निवेदन दिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिएका छन् ।

दल दर्ताका लागि निवेदन दिएकामा हर्क साम्पाङ राई नेतृत्वको श्रम संस्कृति पार्टी, नेपाल नागरिक पार्टी, गतिशील लोकतान्त्रिक पार्टी, राष्ट्रिय परिवर्तन पार्टी, नेपाल लिभरल पार्टी र राष्ट्रिय जेनजी पार्टी रहेका छन् ।

निवेदन दिएका ६ वटा दलमध्ये श्रम संस्कृति, नेपाल नागरिक, गतिशील लोकतान्त्रिक र राष्ट्रिय परिवर्तन पार्टी दर्ता प्रक्रियामा रहेको छ भने नेपाल लिभरल पार्टी अनुसूची-३ लगायतको विवरण पेस नभएको र राष्ट्रिय जेनजी पार्टी विधान लगायत फाइलमा टिपोट गरेको प्रवक्ता भट्टराईले जानकारी दिएका छन् ।