सरकारलाई गुहार्दा गुहार्दै १३ घर पुरिए
काठमाडौं - माथिल्लो भेगबाट डाँडो भासिन थालेपछि लिदी, नाम्फा, सञ्च, झुल्के, निम्लुङ, बैगाङ गाउँका ५ सयभन्दा बढी परिवारले ‘हामी पहिरोको उच्च जोखिममा पर्यौं’ भन्दै सुरक्षित स्थानमा बास सार्ने व्यवस्था मिलाइदिन आग्रह गरेका थिए ।
जिल्ला विपद् व्यवस्थापन समिति र जुगल गाउँपालिकामा उनीहरूले गत महिना बुझाएको निवेदनको जवाफ पाए,‘आफैं सुरक्षित बस्नुस् ।’ विकल्प नै नदेखाई सर्नु भनेका आधारमा गाउँलेले वर्षामा अन्त जान आँट गरेनन् ।
पहिल्यै उच्च जोखिम आकलन गरेर डराइरहेको बस्तीमध्येकै जुगल–२ गोल्चे लिदीमा शुक्रवार पहिरोमा १३ घर पुरिएका छन् । घरसँगै पुरिएका ३८ मध्यये ११ जनाको शव भेटिएको छ । २७ जनाको खोजी भइरहेको छ ।
अविरल वर्षासँगै मास्तिरको पाखो बस्तीमा खसेको हो । बिहान साढे ६ बजे खसेको पहिरोमा परेको बस्तीबाट भागेर १५ जना बाँचेका छन् । ज्यान जोगाउन भाग्दा घाइते ५ जनालाई सेनाको हेलिकप्टरमा उपचारका लागि पठाइएको छ ।
फेला परेका शवको सनाखत हुन बाँकी रहेको गाउँपालिका अध्यक्ष होमनाराण श्रेष्ठले बताए ।
कान्तिपुर दैनिकबाट

.gif)




फेसबुक पेज Like गर्नुहोस