काठमाडौं , बैशाख ११

राजन बस्नेत

मेरो जितका लागि सधैं हार बेहोर्ने मेरी आमा ::मलाई यो संसारको पहिलो स्पर्श गराउनु देखि जत्ती पनि साना ठुला सफलता हात परे ती सबै सफलता हात पर्नुमा मेरी आमाले हर तरहको भुमिका खेल्नुभयो ।

मेरो मीठो निद्राको लागि कति रात अनिदो बस्नुभयो, मेरो ओठमा मिठो मुस्कान ल्याउन कति अमुल्य आँसु खसाउनु भयो, मैले खोज्ने मिठो छाकको तपाईं कति छाक भोकै बस्नुपर्यो अनि मेरो प्रगतिका लागि तपाईंले संघर्षका कति पसिना बगाउनु पर्‍यो ।

म बिर्सिन्न आमा तपाईंले बगाएका पसिना , तपाईंको भोको पेट अनि तपाईंका अमुल्य आँसु ... हो आमा म बिर्सिन्न । मलाई समय र जिन्दगीले धेरै पटक झाप्पु हानेको छ र हर पटक झाप्पु खाँदा मैले मेरो गाला सुम्सुम्याइदिने, मलाई रुन सजिलो हुने अंगालो दिने र जिन्दगीले नमिठो झाप्पु हान्दा समेत मीठो निद्रा लाग्ने काख दिने दुई जना व्यक्ति पाएको थिँए - " एक हजुर अनि बुबा , आमा तपाईंले दिएको माया, ममता, स्नेहले त तपाईंले दिएको शरीर जिवित छ, तपाईंले दिएको मुटु धड्किरहेको छ , तपाईंले नै दिएको फोक्सोले सास फेरिरहेको छ . . .। तपाईंको बारेमा जत्ती लेखे पनि कम लाग्छ र जस्ता शब्द प्रयोग गरे नि सस्ता लाग्छन् । त्यसैले आज यिनै सस्ता शब्दले, यिनै थोरै शव्दले तपाईं प्रतिका भावना पोखेँ ... ।

मलाई थाहा छैन मेरा शब्दहरुले मेरै भावनालाई  कत्तिको न्याय गरे तर "भावना" भन्दा ठुलो र जिवित "शब्द " हुँदैन त्यसैले  यत्ति लेखेँ र अन्त्यमा भन्न चाहन्छु आमा तपाईं दुधले नुहाएको त हुनुहुन्न होला तर संघर्षका पसिनाले तपाईं नुहाउनु भएको छ ... त्यसैले तपाईं संसारकै सुन्दर "आमा" ...