काठमाडौं - जेनजी विद्रोहका अगुवाहरूले प्रधानमन्त्री सुशीला कार्कीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठमाथि नातावाद र कृपावादलाई प्रोत्साहन गरेको आरोप लगाएका छन् ।

प्रधानमन्त्रीका स्वकीय सचिव श्रेष्ठले पत्नी र नातेदारलाई संवेदनशील पदमा नियुक्त गरेको विषय बाहिर आएपछि नेपाल जेनजी फ्रन्टले यसलाई ‘नैतिक भ्रष्टाचारको चरम नमूना’ भनेको छ ।

फ्रन्टकी संयोजक रक्षा बमले भदौ २३ को जनविद्रोह रकमको मात्र होइन, नैतिक भ्रष्टाचार, नातावाद र कृपावादविरुद्धको विद्रोह रहेको स्मरण गराउँदै वर्तमान घटनाले आन्दोलनको मूल मूल्यमा प्रहार गरेको टिप्पणी गरिन् ।

उनले भनिन्, ‘हामीले भदौ २३ मा सुशासन, पारदर्शिता र जवाफदेहिताका लागि आवाज उठाएका थियौँ। तर नागरिक सरकारका प्रमुख स्वकीय सचिवले श्रीमतीसहित नातेदारलाई जागिर दिलाएर नैतिक भ्रष्टाचारलाई संस्थागत गर्ने प्रयास जनविद्रोहकै आत्माविरुद्धको अपमान हो।’

बमका अनुसार नागरिक सरकार परिवर्तनको संवेदनशील मोडमा रहेको बेला यस्तो विवादास्पद कदमले सरकारको विश्वसनीयता नै संकटमा पारेको छ।