पोखरा महानगरद्वारा फिर्केखोला अतिक्रमण हटाउन जेठ ९ सम्मको अल्टिमेटम
पोखरा - पोखरा महानगरपालिकाले फिर्के खोलाको खोलाघरभित्र निर्माण गरिएका स्थायी तथा अस्थायी संरचना निर्धारित समयभित्र हटाउन सम्बन्धित व्यक्ति तथा संस्थालाई निर्देशन दिएको छ ।
महानगरपालिकाले सार्वजनिक गरेको सूचना अनुसार आगामी जेठ ९ गतेभित्र संरचना स्वेच्छाले नहटाए स्थानीय तह आफैँले डोजर प्रयोग गरी हटाउनेछ । त्यस क्रममा लाग्ने सम्पूर्ण खर्च सम्बन्धित पक्षबाट असुल गरिने चेतावनीसमेत दिइएको छ ।
महानगरका अनुसार फिर्केखोला को वडा नम्बर १८ स्थित अँधेरीकुनादेखि सुरु भई वडा नम्बर २, ४, ५, ७, ८ र १७ हुँदै वडा नम्बर ६ को गाईघाट क्षेत्रमा पुगेर फेवाताल मा मिसिने क्षेत्रभित्र विभिन्न भौतिक संरचना निर्माण गरिएको पाइएको छ ।
यसअघि महानगरको प्राविधिक टोलीले स्थलगत नापजाँच गरी सीमांकनका लागि पोल गाडेको थियो । सोही सीमाभित्र परेका संरचनालाई हटाउने प्रक्रिया अघि बढाइएको जनाइएको छ ।
महानगरले २०८० कात्तिक १० गते पहिलो पटक ३५ दिने सूचना जारी गर्दै अतिक्रमित संरचना हटाउन आग्रह गरेको थियो । उक्त सूचनाविरुद्ध उच्च अदालत पोखरा मा रिट दायर भए पनि अदालतले महानगरको कदमविरुद्ध उत्प्रेषण तथा परमादेश जारी गर्न आवश्यक नदेखिएको फैसला गरेको थियो । त्यसपछि अतिक्रमण हटाउने कार्यमा कानुनी अवरोध हटेको महानगरको भनाइ छ ।
महानगरपालिकाले अदालतको फैसला तथा गत वैशाख ४ गते जारी गरिएको सूचनालाई आधार मानेर पुनः अन्तिम सार्वजनिक सूचना जारी गरेको जनाएको छ ।
महानगरले बुधबार फेरि अर्को सूचना जारी गरेको छ । महानगरले स्थायी तथा अस्थायी संरचना यही जेठ ९ गतेभित्र व्यक्तिरसंस्था स्वयंले हटाउनुपर्ने उल्लेख गरी सूचना जारी गरेको हो ।
यसअघि मंगलबार महानगरले अमरसिंह माध्यमिक विद्यालयको स्वामित्वमा रहेको जग्गामा निर्माण गरिएका ५१ वटा सटर र टहराहरूमा डोजर लगाइएको थियो ।

.gif)



फेसबुक पेज Like गर्नुहोस