गगनद्धारा सर्लाही-४ मा मतदाताको समस्या बुझ्न विज्ञ टोली परिचालन
सर्लाही - नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले सर्लाही क्षेत्र नं ४ का स्थानीयका समस्या पहिचान तथा अध्ययन गर्न विज्ञ टोली परिचालन गरेका छन्।
सर्लाही निर्वाचन क्षेत्र नं ४ बाट प्रतिनिधि सभा निर्वाचन लागि उम्मेदवारी समेत दिएका थापाले शिक्षा, स्वास्थ्य, कृषि, सिँचाइ तथा सूचना प्रविधि क्षेत्रका विज्ञ टोली परिचालन गरेका हुन्।
उक्त विज्ञहरूको टोलीले क्षेत्रगत आवश्यकता र समस्याको अध्ययन गर्ने जनाइएको छ। सर्लाहीमा रहँदै मतदातासँगको भेटघाटका क्रममा थापाले योजनाबद्ध र तथ्यमा आधारित ढंगले विकासका काम अघि बढाउने लक्ष्य रहेको उल्लेख गरेका छन्।
अध्ययन टोलीले प्राप्त निष्कर्षका आधारमा आगामी पाँच वर्षका लागि कार्ययोजना तयार गर्ने उनको भनाइ छ।
उनले भने- ‘यहाँको समस्या तुरुन्त काठमाडौंको कार्यालयमा खबर आउँछ । मेरो शिक्षाको टिम, मेरो स्वास्थ्यको टीम, मेरो कृषिको टीम, मेरो सिँचाइको टीम र आज काठमाडौंबाट मेरो सूचना प्रविधिको, आईटीको टीम आउँदै छ । सर्लाही क्षेत्र नम्बर ४ को एउटा-एउटा कुनामा गएर यहाँका विषयहरू के छन्, मुद्दाहरू के छन्, ती सबै कुराको उसले अध्ययन गर्छ ।’
साथै, उनले सम्पर्क र समन्वय सहज बनाउन सर्लाहीसँगै काठमाडौंमा पनि सर्लाही- ४ को सम्पर्क कार्यालय सञ्चालन गरिने बताए ।
उनले थप भने- ‘म नेपालको पहिलो सांसद हुँ जसले सांसद भएदेखि व्यवस्थित सांसदको कार्यालय चलाएको छु । मेरो कार्यालय यहाँ हुन्छ । यहाँ यो मेरो क्षेत्रको नागरिकले जुन बेला चाह्यो त्यो कार्यालयभित्र जानुहुन्छ, आफ्नो समस्या टिपाउनु हुन्छ ।’

.gif)



फेसबुक पेज Like गर्नुहोस