सुजन कडरियाको राजीनामा स्वीकृत, अनेरास्ववियु अध्यक्षको जिम्मेवारी दीपक धामीलाई
काठमाडौं - नेकपा एमालेसम्बद्ध विद्यार्थी संगठन अनेरास्ववियुले अध्यक्ष डा. सुजन कडरियाले दिएको राजीनामा स्वीकृत गर्दै महासचिव दीपक धामीलाई अध्यक्ष बनाउने निर्णय गरेको छ ।
नेपाल कमर्श क्याम्पसमा आज बसेको बैठकले उक्त निर्णय गरेको हो । बैठकले उपाध्यक्ष अञ्जना सिवाकोटीलाई महासचिव बनाउने र अरु पदाधिकारी यथावत् राख्ने निर्णय गरेको धामीले बताएका छन् ।
जेन जेड आन्दोलनमा विद्यार्थी मारिएको विषयमा असन्तुष्टि जनाउँदै कडरियाले राजीनामा घोषणा गरेका थिए । राजीनामासँगै उनले अब पनि जनताको सेवामा निरन्तर लागिरहने प्रतिबद्धता जनाएका थिए । साथै, अहिले सरकारले जनताको भावना विपरीत आन्दोलनलाई दमन गर्न खोजेको स्पष्ट देखिएको र यसको नतिजा भयावह हुने चेतावनी दिएका थिए ।
तर यही कात्तिक २४ गते उनी केन्द्रीय कार्यालय फर्किएका थिए । एमालेले ‘घर फर्क अभियान’ चलाएको भन्दै कडरियासहित राजीनामा दिएर निष्क्रिय रहेका अनेरास्ववियुका नेताहरू नियमित काममा फर्किएका थिए ।
अध्यक्ष कडरियाले सामाजिक सञ्जाल मार्फत राजीनामा दिएर बसेका सबैलाई संगठनको काममा फर्कन आग्रह गरेका थिए ।उता, अर्को धारले संगठन अप्ठ्यारोमा पर्दा राजीनामा दिएर भागेको र अहिले पदमा फर्कन खोजेको भन्दै अध्यक्ष डा। सुजन कडरियाको नेमप्लेट झिकेर जलाएको थियो । अनेरास्ववियुका नेता–कार्यकर्ताले उनको फोटोसमेत तोडफोड गरेका थिए ।
गत जेठ अन्तिम साता भएको अनरोस्ववियुको महाधिवेशनले डा. कडरियालाई अध्यक्षमा निर्वाचित गरेको थियो । कडरिया निकटतम प्रतिद्वन्द्वी प्रकाश पौडेललाई ७ मतले पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका थिए । अब आवश्यक निर्णयार्थ केन्द्रीय कमिटीमा पेश हुनेछ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस