काठमाडौं - नेपाली कांग्रेसका नेता दीपक गिरीले पार्टीको १५औँ महाधिवेशनमा उपसभापति पदका लागि उम्मेदवारी घोषणा गरेका छन्।

गिरीले आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत उपसभापति पदमा उम्मेदवारी दिने औपचारिक घोषणा गरेका हुन्।

पार्टीलाई नयाँ गति र ऊर्जा प्रदान गर्न अनुभवी नेतृत्वको मार्गदर्शनसँगै युवाशक्तिको ऊर्जा तथा सहभागितालाई अघि बढाउने आफ्नो लक्ष्य रहेको गिरीले बताएका छन्। अनुभव र युवाबीचको सहकार्यबाट पार्टी संगठनलाई थप सुदृढ, गतिशील र प्रभावकारी बनाउने उनको भनाइ छ।

‘मेरो लामो राजनीतिक यात्रामा नेपाली कांग्रेसका हरेक चुनौती, आन्दोलन र संगठन निर्माणका अभियानमा निरन्तर सहभागी हुँदै आएको छु,’ गिरीले फेसबुकमा लेखेका छन्, ‘पार्टीको एक निष्ठावान कार्यकर्ताका रूपमा विभिन्न क्षेत्रमा गरेको योगदान, संघर्ष र लामो अनुभवलाई आत्मसात् गर्दै नेपाली कांग्रेसको संगठनलाई अझ सुदृढ, एकताबद्ध र जनमुखी बनाउने संकल्पसहित आज म नेपाली कांग्रेसको उपसभापति पदमा आफ्नो उम्मेदवारी घोषणा गर्दैछु।’

गिरीले आगामी दिनमा पार्टी संगठनलाई अझ सुदृढ, एकताबद्ध र जनमुखी बनाउँदै नेपाली काँग्रेसको यात्रामा जिम्मेवार र प्रभावकारी भूमिका निर्वाह गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन्।

नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदैछ। महाधिवेशनसँगै पार्टीको नयाँ नेतृत्व चयनको प्रक्रिया अघि बढ्नेछ।