बुटवल - रुपन्देहीको तिलोत्तमा नगरपालिकाबाट १० वर्षीया बालिकालाई अपहरण गरी जंगलमा लुकाएर राखेको आरोपमा प्रहरीले एक युवकलाई गोली हानेर नियन्त्रणमा लिएको छ ।
तिलोत्तमा नगरपालिका–१७, दरखसवाका २७ वर्षीय विशाल भनिने युवराज थारुलाई आइतबार राति तिलोत्तमाकै कान्छी बजारस्थित जंगलबाट पक्राउ गरिएको हो ।
प्रहरीका अनुसार पक्राउ गर्ने क्रममा थारुले प्रहरीमाथि आक्रमण गर्न खोजेपछि एक राउन्ड गोली चलाइएको थियो । गोली लागेर खुट्टामा चोट लागेका थारुलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल लगिएको प्रहरीले जनाएको छ ।
थारुमाथि बुधबार राति तिलोत्तमाकी १० वर्षीया बालिकालाई घरभित्र सुतिरहेको अवस्थामा अपहरण गरेको आरोप छ । राति करिब २ बजे बालिकालाई कपडा ओढाइदिन खोज्दा हजुरआमाले उनलाई घरमा नभेटेपछि परिवारमा हल्लाखल्ला भएको थियो । त्यसपछि छिमेकीमार्फत तत्काल प्रहरीलाई खबर गरिएको थियो ।
बालिका हराएको सूचना पाएलगत्तै प्रहरीले बिहीबार बिहानदेखि गाउँ आसपासका क्षेत्र र स्थानीय जंगलमा खोजी अभियान थालेको थियो । खोजीका क्रममा प्रहरीले अपहरणमा संलग्न व्यक्तिको पहिचान खुल्ने आधार फेला पारेको थियो ।
करिब ३८ घण्टापछि शुक्रबार साँझ ७ बजे प्रहरीले कान्छी बजारस्थित जंगलबाट बालिकालाई सकुशल उद्धार गरेको थियो । बालिका उद्धार भए पनि घटनामा संलग्न भएको आरोप लागेका थारु भने त्यसबेलासम्म फरार थिए ।
बालिका उद्धार गरिएको स्थानमा भेटिएको मोबाइल फोनलाई आधार बनाएर प्रहरीले थारुको पहिचान गरेको जनाएको छ । त्यसपछि उनको खोजी तीव्र पारिएको थियो । थारु जंगलमै लुकेर बसेको आशंकामा प्रहरीले निरन्तर खोजी गरिरहेको थियो ।
सोही क्रममा आइतबार राति करिब १ बजे प्रहरीले थारुलाई जंगलबाट नियन्त्रणमा लिएको हो । पक्राउ गर्ने क्रममा उनले प्रहरीमाथि आक्रमण गर्न खोजेपछि गोली चलाउनुपरेको प्रहरीको भनाइ छ ।
प्रहरीले बालिका सकुशल रहेको र हाल आफ्नो सुरक्षामा रहेको जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
इलाका प्रहरी कार्यालय बुटवलका अनुसार बालिकाको खोजी, उद्धार तथा घटनामा संलग्न व्यक्तिको पहिचान र पक्राउका लागि प्रहरीले निरन्तर प्रयास गरेको थियो । प्रहरीले लामो खोजीपछि बालिकालाई सकुशल उद्धार गर्न सफल भएको जनाएको छ ।

.gif)


