काठमाडौं - परराष्ट्रमन्त्री शिशिर खनाल जलवायु परिवर्तनसम्बन्धी ‘प्रि–कोप लिडर्स इभेन्ट’मा सहभागी हुन फिजी प्रस्थान गरेका छन् ।

फिजी र टुभालुमा यही अक्टोबर ५ र ६ तारिखमा आयोजना हुने कार्यक्रममा सहभागी हुन मन्त्री खनालको नेतृत्वमा चार सदस्यीय नेपाली प्रतिनिधिमण्डल आज बिहान त्यसतर्फ प्रस्थान गरेको हो ।

मन्त्री खनालले अक्टोबर ६ तारिखमा आयोजना हुने नेताहरूको पूर्ण सत्र (लिडर्स प्लेनरी) मा सम्बोधन गर्ने कार्यतालिका रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। 

कार्यक्रमअघि खनालले पलाउका राष्ट्रपति तथा अष्ट्रेलिया र फिजीका प्रधानमन्त्रीसँग संयुक्त रूपमा आयोजना हुने सञ्चारकर्मीसँगको प्रश्नोत्तर कार्यक्रममा समेत सहभागिता जनाउने छन्।

जलवायु परिवर्तनसम्बन्धी विश्वव्यापी संवाद र सहकार्यलाई अगाडि बढाउने उद्देश्यले आयोजना हुने प्रि–कोप लिडर्स इभेन्टमा नेपालको सहभागिताले जलवायु परिवर्तनका असर, जलवायु न्याय तथा हिमाली राष्ट्रका सरोकारका विषयलाई अन्तरराष्ट्रिय मञ्चमा उठाउने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ।

फिजी र टुभालुमा आयोजना हुने कार्यक्रममा सहभागिता जनाएपछि परराष्ट्रमन्त्री खनाल अष्ट्रेलिया प्रस्थान गर्नेछन्। त्यहाँ उनले अक्टोबर ८ तारिखमा अष्ट्रेलियाकी विदेशमन्त्री पेनी वङसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ। 

भेटवार्ताका क्रममा नेपाल–अष्ट्रेलिया सम्बन्ध, द्विपक्षीय सहकार्य तथा आपसी हितका विविध विषयमा छलफल हुने बताइएको छ। 

अष्ट्रेलिया भ्रमणका क्रममा मन्त्री खनालले क्यानबेरास्थित नेपाली दूतावास र सिड्नीमा रहेका नेपाली डायस्पोराद्वारा छुट्टाछुट्टै आयोजना गरिने कार्यक्रममा समेत सहभागिता जनाउनेछन्। 

ती कार्यक्रममार्फत उनले अष्ट्रेलियामा रहेका नेपाली समुदायसँग अन्तक्र्रिया गर्नुहुने मन्त्रालयले जनाएको छ। मन्त्री खनाल अक्टोबर १२ तारिखमा नेपाल फर्कने कार्यक्रम रहेको छ।