काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सरकारका रहेका मन्त्रीहरू हेरफेर गर्ने कुनै सम्भावना नरहेको बताएका छन्।

बुधबार सिंहदरबारमा सरकारका मन्त्री र सांसदहरूसँग छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै सभापति लामिछानले मन्त्रीहरूले धेरै काम गर्दा केही प्रश्न आउनु स्वभाविक भएको भन्दै प्रश्न उठ्दैमा मन्त्रीहरू हेरफेर गर्ने कुनै तयारी वा छलफल नभएको बताए। 

पार्टीको केन्द्रीय समितिलाई पूर्णता दिने काम ५ वर्षभित्र गरिने नियमित प्रक्रिया भएको भन्दै उनले पार्टीमा कुनै पक्ष वा व्यक्तिको नाम तोकेर नभई विधानले दिएको अधिकारअनुसार योग्य नेतालाई क्रमशः जिम्मेवारी दिँदै जाने स्पष्ट पारे। उनले महाधिवेशनपछि समायोजनको काम सकिइसकेकाले पार्टीभित्र कुनै दुई धार नरहेको दाबी गरे।

सभापति लामिछानेले दलभित्र कुनै विवाद, अन्योल वा गुटबन्दी नरहेको उल्लेख गर्दै जनताले दिएको म्यान्डेट र देशको भविष्य निर्माणका लागि गरिएको ऐतिहासिक प्रतिवद्धताप्रति पार्टी पूर्ण रूपमा स्पष्ट र एकजुट रहेको बताए।

उनले धेरै सांसदहरू भएको ठूलो दलभित्र संसदमा कसरी प्रस्तुत हुने, नागरिकका मुद्दा कसरी उठाउने भन्ने विषयमा आन्तरिक छलफल हुनु स्वाभाविक प्रक्रिया भएको बताए। संसद्को मर्यादा जोगाउनु र जनताका मुद्दालाई गम्भीरतापूर्वक उठाउनु पार्टीको मुख्य प्राथमिकता रहेको उनको भनाइ छ।