काठमाडौं - स्थानीय तहको निर्वाचनको तयारीमा जुटेको निर्वाचन आयोगले आज राष्ट्रिय मान्यता प्राप्त ६ राजनीतिक दलसँग छलफल गर्ने भएको छ ।
आयोगले निर्वाचनको मिति निर्धारण, व्यवस्थापन र आवश्यक पूर्वतयारीका विषयमा दलहरूको सुझाव लिन छलफल गर्न लागेको हो । त्यसका लागि आयोगले राष्ट्रिय दलका प्रतिनिधिहरूलाई बिहान ११ः३० बजे आयोगमा आमन्त्रण गरेको छ ।
निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले स्थानीय तहको निर्वाचनका विषयमा परामर्श गर्न राजनीतिक दलहरूलाई बोलाइएको जानकारी दिए ।
उनका अनुसार आज राष्ट्रिय मान्यता प्राप्त दलका प्रतिनिधिहरूसँग छलफल हुनेछ । त्यसपछि आयोगमा दर्ता भएका अन्य राजनीतिक दलहरूसँग पनि परामर्श गर्ने कार्यक्रम छ ।
प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्रिय दलको मान्यता प्राप्त गरेका छन् ।
स्थानीय तहका जनप्रतिनिधिको पाँचवर्षे कार्यकाल आगामी वैशाखमा सकिँदै छ । त्यसलाई मध्यनजर गर्दै आयोगले नयाँ निर्वाचनको मिति घोषणा र निर्वाचन व्यवस्थापनको तयारी अघि बढाएको हो ।
दलहरूसँगको छलफलबाट निर्वाचनको मिति, व्यवस्थापन, कानुनी तथा प्राविधिक तयारीलगायत विषयमा सुझाव लिएर आवश्यक प्रक्रिया अघि बढाउने आयोगको तयारी छ ।

.gif)



