काठमाडौं - नेपाल प्रहरीले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित २८ जना प्रहरी कर्मचारीका सन्तानलाई प्राथमिक तहदेखि स्नातकोत्तर तहसम्म निःशुल्क शिक्षा दिने भएको छ ।

नेपाल प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको अध्यक्षतामा सोमबार बसेको नेपाल प्रहरी नीति निर्माण समितिको उच्चस्तरीय बैठकले प्रभावित प्रहरी परिवारका लागि शिक्षा, जीविकोपार्जन र दीर्घकालीन पुनःस्थापनासम्बन्धी विशेष निर्णय गरेको हो ।

निर्णयअनुसार प्रभावित २८ प्रहरी कर्मचारीका सन्तानले प्राथमिक तहदेखि स्नातकोत्तर तहसम्मको शिक्षा पूर्णरूपमा निःशुल्क पाउनेछन् । 

गत भदौ १० गते रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको बाढीका क्रममा प्रहरी कर्मचारीहरू प्रभावित भएका थिए।

जोखिमपूर्ण अवस्थामा समेत कर्तव्यमा खटिएका प्रहरी कर्मचारी तथा उनीहरूको परिवारलाई राहत र दीर्घकालीन सहयोग उपलब्ध गराउने उद्देश्यले यस्तो निर्णय गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

शिक्षासँगै प्रभावित प्रहरी परिवारका सदस्यको जीविकोपार्जन र पुनःस्थापनालाई समेत प्राथमिकता दिइएको छ । परिवारका सदस्यलाई आवश्यकताअनुसार सीपमूलक तथा व्यावसायिक तालिम उपलब्ध गराई रोजगारीको उचित व्यवस्था मिलाउने निर्णयसमेत भएको छ ।

विपद्का बेला राष्ट्र र जनताको सुरक्षामा खटिएका प्रहरी कर्मचारीको योगदानलाई ध्यानमा राख्दै प्रभावित परिवारको शिक्षा, रोजगारी र पुनःस्थापनामा सहयोग पुग्ने गरी निर्णय गरिएको नेपाल प्रहरीले जनाएको छ ।