काठमाडौं - एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी)को वार्षिक बैठकमा सहभागी भएर अर्थमन्त्री डा. स्वर्णिम वाग्ले बुधबार स्वदेश फर्किएका छन् ।

कतार एयरवेजको जहाजमार्फत उनी बिहान ८ः४५ बजे काठमाडौं आइपुगेका हुन् ।

वाग्ले असोज १० गते एआईआईबीको वार्षिक बैठकमा सहभागी हुन कतारको राजधानी दोहा गएका थिए ।

यसपटकको बैठकमा नेपाल पहिलोपटक एआईआईबीको उपसभापतिमा निर्वाचित भएको छ । गभर्नर परिषद्को बैठकले वाग्लेलाई सन् २०२६–२७ का लागि उपसभापतिमा निर्वाचित गरेको हो । क्षेत्रीय सदस्य राष्ट्रहरूमध्येबाट नेपाल उपसभापतिमा निर्वाचित भएको हो ।

बैठकको ‘गभर्नर्स बिजनेस राउन्डटेबल’मा वाग्लेले पूर्वाधारमार्फत पुँजी निर्माण कम विकसित मुलुकको आर्थिक वृद्धिको महत्वपूर्ण आधार रहेको बताएका थिए । उनले सडक, विद्युत्, सञ्चार तथा सूचना प्रविधिजस्ता उत्पादनका प्रमुख क्षेत्रमा लगानी बढाउनुपर्नेमा समेत जोड दिएका थिए ।

नेपालजस्ता मुलुकको आवश्यकता र क्षमताअनुसार एआईआईबीको लगानीलाई थप सहुलियतपूर्ण बनाउनुपर्ने तथा स्वदेशी र विदेशी निजी पुँजी आकर्षित गर्ने गरी वित्तीय स्रोत उपलब्ध गराउनुपर्ने धारणा पनि उनले राखेका थिए ।

बैठकका क्रममा वाग्लेले एआईआईबीका अध्यक्षसहित कतार, भारत, बंगलादेश, आर्मेनिया र जर्जियाका अर्थमन्त्रीसँग द्विपक्षीय भेटवार्ता गरेका थिए । भेटमा आर्थिक सहकार्य, लगानी विस्तार तथा नेपालमा प्राकृतिक विपत्तिपछिको पुनर्निर्माणमा सहयोगलगायत विषयमा छलफल भएको थियो ।