काठमाडौं-अन्तर्राष्ट्रिय मानव अधिकार संस्था ह्युमन राइट्स वाच (एचआरडब्ल्यू) ले भदौ २३ मा नेपालमा भएको जेनजी प्रदर्शनमा सुरक्षाकर्मीले अत्यधिक बल प्रयोग गरेको निष्कर्ष निकालेको छ ।

शनिबार सार्वजनिक भएको संस्थाको प्रतिवेदनमा सो दिन अनावश्यक र अवैध तरिकाले प्रदर्शनकारीमाथि करिब ३ घण्टा अन्धाधुन्द गोली प्रहार गरिएको आरोप समेत लगाइएको छ ।

राजनीतिक भ्रष्टाचार र सामाजिक सञ्जाल प्रतिबन्धको विरोधमा प्रदर्शन गरिएका प्रदर्शनकारीहरुमाथि करिव तीन घण्टासम्म धेरैपटक अन्धाधुन्ध गोली चलेको भन्दै उसले त्यसक्रममा मात्रै १७ जनाको ज्यान गएको जनाएको छ । त्यो दिन मर्नेहरुको कुल संख्या भने २२ पुगेको थियो ।

उसले अध्ययन प्रतिवेदनमा पहिलो दिन साढे १२ बजे संसद भवन वरपर जम्मा भएका प्रदर्शनकारीहरुलाई तितरवितर पार्न प्रहरीले सोझै ‘प्राणघातक बल’ प्रयोग गरेको निष्कर्ष निकालेको छ । उसले त्यो प्रहार टाउको, छाती र पेटमा केन्द्रित भएको भन्दै सुरक्षाकर्मीहरु ‘जीवन-मरणको जोखिम’मा नभएकै अवस्थामा पनि बल प्रयोग भएको निष्कर्ष निकालेको हो ।

एचआरडब्ल्यूले सार्वजनिक गरेको प्रतिवेदनमा प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारलाई सेप्टेम्बर ८ मा भएको अत्यधिक बल प्रयोग र त्यसको भोलिपल्ट (सेप्टेम्बर ९) भएका आगजनी तथा सामूहिक आक्रमणका घटनाको निष्पक्ष छानबिन गर्न आग्रह गरिएको छ ।

एचआरडब्ल्यूले अध्ययनको निष्कर्षमा हिंसाको अनुसन्धान गर्न बनेको न्यायिक आयोगले पारदर्शी रुपमा काम गर्नुपर्ने र कानून तोड्ने जोकोहीलाई अनुसन्धान र अभियोजनमा ल्याउन सक्षम हुनुपर्ने औल्याएको हो ।

एचआरडब्ल्यूकी एसिया उपनिर्देशक मिनाक्षी गांगुलीले नेपालमा भएको हिंसामा गम्भीर मानव अधिकार उल्लंघन भएको बताइन् । उनले दोषी जोसुकै भए पनि जवाफदेही बनाउनुपर्नेमा जोड दिएकी छन् । उनले भनिन्- ‘अनुसन्धान स्वतन्त्र, समयसीमा तोकिएको र पारदर्शी हुनुपर्छ । कानुन उल्लंघन गर्ने कसैलाई पनि जोगाउनुहुँदैन ।’

प्रतिवेदनमा ९ सेप्टेम्बरमा हिंसा भड्किएको तर सुरक्षाकर्मी भिड नियन्त्रणमा असफल देखिएको उल्लेख छ । त्यस दिन प्रदर्शनसँग सम्बन्ध नभएका व्यक्तिहरूले सरकारी भवन, नेता, पत्रकार, विद्यालय र निजी सम्पत्तिमा आगजनी तथा आक्रमण गरेको प्रतिवेदनमा उल्लेख छ ।

कार्की सरकारले दुई दिनको हिंसामा तीन प्रहरीसहित देशभर कम्तीमा ७६ जनाको मृत्यु भएको घटना छानबिन गर्न न्यायिक आयोग गठन गरेको छ । एचआरडब्ल्यूले सरकारलाई भ्रष्टाचार र युवाहरूलाई सडकमा आउन बाध्य पार्ने कारणहरू सम्बोधन गर्न सुझाव दिएको छ । प्रतिवेदन ५२ जना प्रत्यक्षदर्शी, पीडित, पत्रकार, स्वास्थ्यकर्मी र सुरक्षा स्रोतसँगको अन्तर्वार्ता, भिडियो तथा तस्बिरको प्रमाण र घटनास्थलको अवलोकनका आधारमा तयार पारिएको एचआरडब्ल्यूले जनाएको छ । अनुसन्धान काठमाडौंमा केन्द्रित रहेको उल्लेख छ ।

ह्यूमन राइट्स वाच सन् १९७८ मा स्थापित एक अन्तर्राष्ट्रिय गैरसरकारी संस्था हो । जसले मानव अधिकार, हिंसा, युद्धअपराधलगायतको अनुगमन गर्छ ।