सर्वोच्चले न्याय गर्ने विश्वास छ : देउवा
काठमाडौं - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान र लोकतन्त्रको रक्षाका लागि आफूसहित प्रतिनिधिसभाका बहुमत सांसदले सर्वोच्च अदालतमा दर्ता गराएको निवेदनमा अदालतबाट न्याय पाउने विश्वास व्यक्त गरेका छन् ।
नेपाल प्रेस युनियनको ३० औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित भर्चुअल कार्यक्रममा उनले प्रधानमन्त्रीले संविधान उल्लंघन गरेको आरोप लगाउँदै संविधानको रक्षाका लागि आफूहरु अदालत जान बाध्य भएको बताए । उनले संविधानको धारा ७६ को उपधारा (५) बमोजिम आफूहरुले नयाँ सरकार गठनका लागि गरेको दावीमा राष्ट्रपतिले आवश्यक छानबिन नगरेको भनी आपत्ति जनाए ।
पूर्वप्रधानमन्त्री देउवाले भने, “अहिले जनताको जीवन रक्षा प्रमुख विषय हो, तसर्थ हामी अदालत गएका हौँ, यसमा जनमत सिर्जना गरी सहयोग गर्न सञ्चारमाध्यमलाई आग्रह गर्दछौँ ।” फरक प्रसंगमा उनले आफूले पार्टीको महाधिवेशन गर्न नसकेको कलंक बोक्न नचाहेको उल्लेख गर्दै सबैको चित्त बुझाएर निर्धारित समयमै सम्पन्न गरिने विश्वास दिलाए ।
कार्यक्रममा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधानले बहुदलीय लोकतान्त्रिक व्यवस्था आत्मसात् गरे पनि धारा ७६ को उपधारा (५) पुगेपछि सांसदको आत्मनिर्णय र स्वविवेकीय अधिकारसमेत स्वीकार नगरिएको जनाउँदै सोही व्यवस्थानुसार सरकार गठनका लागि सांसदहरु अदालत जानुपरेको बताए ।
फेसबुक पेज Like गर्नुहोस