‘प्रधानमन्त्री ओली खतरामुक्त अवस्थामा छन्’
काठमाडौं - एपेन्डिसाइटिसको शल्यक्रिया गरेका प्रधानमन्त्री केपी ओलीको स्वास्थ्य अवस्था खतरामुक्त रहेको उपचारमा संलग्न चिकित्सकहरुले जनाएका छन् ।
मंगलबार एपेन्डिसाइटिसको अप्रेशन गरेपछि आइसियूमा स्वास्थ्यलाभ गरिरहेका प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा यस्तो जानकारी दिइएको हो ।
शल्यक्रियाको तीन दिनपछि उपचारमा संलग्न चिकित्सकहरुले पत्रकार सम्मेलन गरी पछिल्लो स्वास्थ्य अवस्थाबारे जानकारी दिएका छन् । अस्पतालबाट डिस्चार्ज हुने भने ओलीलाई अझै एक साता लाग्नेछ ।
प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे जानकारी दिन शुक्रवार बिहान मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्रीकी निजी चिकित्सक दिव्या सिंह शाहले स्वास्थ्य अवस्था खतरामुक्त भएपनि प्रधानमन्त्री पूर्णरूपमा स्वास्थ्य भने नभएको बताइन् ।
‘प्रधानमन्त्री खतरामुक्त हुनुहुन्छ’ शाहले भनिन् ,’तर स्वास्थ्य जोखिम भने कायम नै छ । त्यसकारण एक साता उहाँ अस्पतालमानै रहनुहुन्छ ।’
प्रधानमन्त्रीले अझै १० दिन भेटघाट र छलफल गर्न नसक्ने उनले बताइन् । मिर्गौलाको उपचारमा रहेका प्रधानमन्त्रीको मिर्गौलाको प्रत्यारोपण एपेन्डिसाइटिसका कारण केही पर धकेलिन सक्ने डा। शाहको तर्क थियो । चिकित्सकहरुका अनुसार शल्यक्रियापछि पनि प्रधानमन्त्रीको मिर्गौलाको डायलासिस पनि गरिएको छ ।
फेसबुक पेज Like गर्नुहोस