काठमाडौं - भक्तपुरमा एकै परिवारका तीन जना अचेत अवस्थामा फेला परेका छन्। तीमध्ये एक जनाको उपचारको क्रममा मध्यपुर अस्पतालमा मृत्यु भएको छ । 

मृत्यु हुनेमा काभ्रे तिमाल गाउँपालिका-३ की २२ वर्षीया सुनिता तामाङ छिन्। उनी हाल सुर्यबिनायक नगरपालिका-१० मिलनचोकमा डेरा गरी आमा र बहिनीसँग बस्दै आएकी थिइन् । 

अचेत अवस्थामा फेला परेकी आमा ४० वर्षीया शान्तिमाया तामाङ र बहिनी १८ वर्षीया अनिता तामाङको अहिले मध्यपुर अस्पतालमा उपचार भइरहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ। घटना आइतबार राति ११ बजेको हो । 

प्रहरीका अनुसार अनिता सोही दिन सुत्केरी भएकी थिइन्। सुत्केरी सेक्न कोठामा कोइला बालिएको थियो। कोठा सम्पूर्ण झ्याल ढोका भित्रबाट बन्द रहेकाले अक्सिजन अभावका कारण सो घटना घटेको प्रहरीले जनाएको छ । 

घटनामा बेहोस भएका २ जनाको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको तर राम्ररी बोल्न सक्ने अवस्थामा भने रहेको अस्पतालले प्रहरीलाई जानकारी दिएको छ।