तन्त्रमन्त्र गरेको भन्दै सफारी चालकको गोली हानी हत्या
विराटनगर - सुनसरीको रामधुनी नगरपालिका-२ मा गोली हानेर सीटी सफारी चालकको हत्या गरिएको घटनामा संलग्न ७ जना पक्राउ परेका छन् ।
प्र-१-०२-००४ ह ७८०४ नम्बरको सफारीका चालक ४५ वर्षीय दिनेशकुमार चौधरीको असोज २५ गते साँझ हत्या भएको थियो । मोटरसाइकलमा आएका अज्ञात व्यक्तिहरु गोली हानेर फरार भएका थिए ।
बायाँ छातीमा गोली लागेको घाइते अवस्थामा भेटिएका उनको उपचारका क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको थियो । प्रहरीले उक्त घटनामा संलग्न मुख्य योजनाकारसहित ७ जनालाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा सुनसरी रामधुनी नगरपालिका १ झुम्काका ४३ वर्षीय राजकिशोर साह, ४० वर्षीय नन्दकिशोर साह, सप्तरी राजविराज नगरपालिका-१६ का २८ वर्षीय अंकित साह र सोही पालिकाको वडा नम्बर ९ का २८ वर्षीय प्रिन्सकुमार दास, सुनसरी भोक्राहा नरसिंह गाउँपालिका-५ का ३४ वर्षीय मोहमद इब्रान मिया, देवानगन्ज गाउँपालिका-४ का ३७ वर्षीय गियास मन्सुरी र देवानगन्ज गाउँपालिका-५ का २५ वर्षीय मिथलेश यादव रहेका छन् ।
प्रहरीको प्रारम्भिक अनुसन्धानबाट हत्याको मुख्य कारण व्यक्तिगत दुस्मनी रहेको खुलेको छ। पक्राउ परेकामध्ये राजेश साहले आफूलाई तन्त्रमन्त्र गरेर बिरामी पारेको भन्दै चौधरीको हत्या गर्न ६ लाख ५० हजार रूपैयाँ एडभान्स दिएको पाइएको छ । घटनापछि थप साढे ३ लाख दिने सहमति थियो ।
घटनामा अन्य व्यक्ति पनि जोडिएका कारण थप विवरण खुल्न बाँकी रहेको सुनसरी प्रहरीले जनाएको छ ।

.gif)




फेसबुक पेज Like गर्नुहोस