काठमाडौं - रसुवास्थित भोटेकोशी नदीमा आएको भीषण बाढीमा परी ज्यान गुमाउनेको संख्या २०७ पुगेको छ।

प्रहरीका अनुसार पूर्वी नवलपरासीमा मात्रै ६२ जनाको शव फेला परेको छ। तीमध्ये २६ जनाको शव विभिन्न ७ वटा अस्पतालमा राखिएको छ भने ३६ जनाको शव घटनास्थलमै रहेको नवलपरासी पूर्व प्रहरीले जनाएको छ।

यसअघि रसुवामा २, नुवाकोटमा १२, धादिङमा २७, चितवनमा ६९, गोरखामा २०, तनहुँमा ९ र नवलपरासी पश्चिममा ६ जनाको शव फेला परेको प्रहरीले जनाएको थियो।

यस्तै, ३३ जना घाइतेको काठमाडौंका विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ। त्रिवि शिक्षण अस्पतालमा १९ जना, ट्रमा सेन्टरमा ८ जना, वीर अस्पतालमा २ जना, वीरेन्द्र सैनिक अस्पतालमा १ जना, नर्भिक अस्पतालमा २ जना र मनमोहन अस्पतालमा १ जनाको उपचार भइरहेको छ।

काठमाडौं ल्याइएका अन्य घाइते भने उपचारपछि डिस्चार्ज भएका छन्।

बाढीबाट प्रभावित क्षेत्रमा घाइते तथा बेपत्ताको खोजी र उद्धार कार्य बिहीबार पनि जारी रहेको प्रहरीले जनाएको छ।