धनुषा - मधेस प्रदेश प्रदेशमा स्नातक उत्तीर्ण गरेका बेरोजगार युवाले मासिक बेरोजगार भत्ता पाउने भएका छन् ।

मधेसका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवको प्रथम मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो ।

बुधबार पत्रकार सम्मेलनमार्फत प्रदेशमा स्नातक उत्तीर्ण गरेका बेरोजगार युवालाई मासिक दुई हजारका दरले बेरोजगार भत्ता दिने निर्णय गरिएको मुख्यमन्त्री यादवले बताएका हुन् ।

प्रदेश सरकारले गरेको उक्त निर्णय अनुसार १८ वर्षदेखि ३५ वर्ष उमेरसमूहका युवाहरु यसअन्र्तगत पर्दछन् ।

कुनै रोजगारीमा नरहेका युवालाई जीवन निर्वाहबापत मासिक दुई हजारका दरले भत्ता दिँदा ३५ करोड खर्च हुने अनुमान गरिएको मुख्यमन्त्री यादवले जानकारी दिए ।

प्रदेशमा स्नातक उत्तीर्ण गरेका करिब एक लाख ५० हजार बेरोजगार युवा छन् ।

यस्तै बैठकमा सरकारले खडेरी र डुबानबाट धानबालीमा क्षति बेहोरेका किसानलाई प्रतिकट्ठा रु एक हजार ५०० का दरले राहत उपलब्ध गराउने निर्णय भएको छ । यस वर्ष लामो समय खडेरीको मारमा परेका मधेस प्रदेशका किसानहरू गत असोजको अविरल वर्षाबाट पुनःडुबान पीडित भएका थिए ।