काठमाडौं - भारतको जम्मू–कश्मीरबाट आउने पश्चिमी न्युन चापिय प्रणालीको प्रभाव अझै पनि कायमै रहेको छ । 

यही असरले अहिले देशका पश्चिमी भूभागमा सामान्यदेखि पूर्ण बदली रही बाँकी स्थानहरुमा सामान्य बदली रहेको छ । देशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । उच्च पहाडी तथा हिमालीका अधिकांश भूभागमा हिमपात भइरहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् समीर श्रेष्ठका अनुसार अहिले देखिएको पश्चिम न्युन चापिय प्रणाली शुक्रबारसम्म रहने छ ।  उनका अनुसार यो प्रणाली सकिएपछि फेरि अर्को प्रणाली आउने हुनाले मौसममा परिवर्तन भइरहन्छ । हिउँदे समयमा मौसममा छिटोछिटो परिवर्तन हुने पनि उनले बताए ।

यता अर्की मौसमविद् मञ्जु बासीले मौसमको असरले भिजिबिलिटी कम हुँदा हवाई उडानमा असर परेको छ । बिहीबार बिहानको भिजिबिलिटी मात्र एक किलोमिटर रहेकाले उडानमा असर पुगेको छ । 

जहाज उडानका लागि कम्तीमा दुई किलोमिटर भिजिबिलिटी चाहिने भन्दै बासीले एक किलोमिटर मात्र हुँदा उडान ठप्प रहेको जानकारी दिइन् । 

भिजिबिलिटी कम हुँदा सडकमा यातायातलाई समेत असर पुगेको छ । हुस्सु र कुहिरोका कारण भिजिबिलिटी कम भएको हो ।  ट्राफिक प्रहरी महाशाखाले हुस्सु र कुहिरोमा दुर्घटना बढ्ने भएकाले सचेत रहन आग्रह समेत गरेको छ ।  काठमाडौं उपत्यकामा बुधबार २१३५३ यात्रु भित्रिएका छन् भने १८६४१ यात्रु बाहिरिएका छन् ।