मधेश प्रदेशका सभामुख मण्डल पदमुक्त
जनकपुरधाम - मधेश प्रदेशसभाका सभामुख रामचन्द्र मण्डल पदमुक्त भएका छन् । विपक्षी ७४ सांसदले पेश गरेको अविश्वासको प्रस्ताव आजको सभाबाट पारित भएसँगै मण्डल पदमुक्त भएका हुन् ।
मण्डल एमालेबाट प्रदेशसभा सदस्य निर्वाचित भएका हुन् । नेपाली कांग्रेसका प्रमुख सचेतक कुमरकान्त झाले मधेश मण्डलमाथि पद अनुकूलको आचारण नगरेको भन्ने प्रस्ताव पेश गरेका थिए लोसपाका नेताले समर्थन जनाए ।
मधेस प्रदेशमा कुल १०७ सदस्यमध्ये ३ जना निलम्बित छन् । अविश्वासको प्रस्तावको पक्षमा ७६ मत परेको छ भने विपक्षमा शून्य मत पर्यो । दुई तिहाइ बहुमत सदस्यले प्रस्तावको पक्षमा मतदान गरेसँगै मण्डल पदमुक्त भएका छन् ।
उपसभामुख बबिता राउत ईशरले आव्हान गरेको मधेश प्रदेशसभाको बैठकमा सभामुखविरुद्धको अविश्वास प्रस्ताव निर्णयार्थ पेश गरिएको थियो ।
प्रदेशसभा कार्य सञ्चालन नियमावली २०७५, परिच्छेद २१, नियम १८० अनुसार पदीय आचरण अनुकूल कार्य नगरेको उनीहरूको आरोप छ । सभामुख नेकपा एमालेबाट निर्वाचित प्रदेशसभा सदस्य हुन् । मनोमानी ढंगले सदन चलाएको, सांसदहरूलाई बोल्न नदिएको, सांसदहरूमाथि आक्रमण गरेको उनीमाथि विपक्षीको आरोप छ ।
२ सातादेखि अस्तव्यस्त बनेको मधेश प्रदेशको राजनीति अझै सङलिएको छैन । यहाँ एमाले एकातिर र अरु सबै दल अर्कोतिर उभिएका छन् । प्रदेश प्रमुखबाट मुख्यमन्त्री नियुक्ति, केन्द्र सरकारबाट प्रदेश प्रमुख परिवर्तन र मुख्यमन्त्रीविरुद्धको सर्वोच्च अदालतको मुद्दाले मधेशको राजनीति गर्माएको हो ।

.gif)



फेसबुक पेज Like गर्नुहोस