पूर्वराष्ट्रपति भण्डारीको गुनासो : नवीकरण गरिसकेको मेरो सदस्यता रोकियो तर विषम राजनीतिमा पार्टी अग्रगतिमा जानुपर्छ
काठमाडौं- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नवीकरण गरिसकेको आफ्नो पार्टी सदस्यता रोकेको भन्दै नेतृत्वप्रति असन्तुष्टि व्यउक्त गरेकी छिन् । एमालेको ११औँ महाधिवेशन नजिकिँदै जाँदा उनले आफूले २ वर्षअघि नै पार्टी सदस्यता नवीकरण गरेको तर नेतृत्वले रोकेको भन्दै असन्तुष्टि व्यक्त गरेकी हुन् । एमालेकी पूर्वउपाध्यक्षसमेत रहेकी भण्डारीले आज बिहीबार बिहान आफ्नो फेसबुक पेजमार्फत ११औँ महाधिवेशनका लागि एमालेका सदस्यहरूलाई शुभकामना दिँदै आफू भने यसमा सहभागी हुनबाट वञ्चित भएको गुनासो गरेकी छिन् ।
उनले भनेकी छिन्- ‘मैले दुई वर्षअघि नै विधानसम्मत ढंगले नवीकरण गरिसकेको मेरो पार्टी सदस्यतालाई नेतृत्वले अनुचित तरिकाले रोकेको कारण म स्वयं यो महाधिवेशनमा भौतिक उपस्थिति नभए तापनि पार्टी परिवारको अभिन्न सदस्यको हैसियतले म तपाईंहरूका साथ निरन्तर रहनेछु ।’
महाधिवेशनमा आफ्नो भौतिक उपस्थिति नभए पनि एमाले परिवारको अभिन्न सदस्यको हैसियतले आफ्नो साथ रहने उनले उल्लेख गरेकी छिन् । उनले विद्यमान विषम राजनीतिक परिस्थितिको सामना गर्दै पार्टीलाई अग्रगतितर्फ अघि बढाउन यो महाधिवेशन पूर्ण रूपमा सफल हुनेछ भन्ने दृढ विश्वास पनि व्यक्त गरेकी छिन् । एमालेको ११औँ महाधिवेशन यही मंसिर २७, २८, २९ गते हुँदै छ । उद्घाटन कार्यक्रम भक्तपुरको सल्लाघारी र बन्दसत्र काठमाडौंको भृकुटीमण्डपमा गरिने एमालेले जनाएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस