जबज विचलित नभई जनताको पक्षमा उभिने मार्गदर्शक विचार हो : केपी ओली
काठमाडौं - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनताको बहुदलीय जनवाद (जबज) ले आज पनि विचलित नभई जनताको पक्षमा उभिन र परिवर्तनको यात्रालाई अधुरो हुन नदिन प्रेरित गरिरहेको बताएका छन्।
मदन–आश्रित स्मृति दिवसका अवसरमा श्रद्धाञ्जली व्यक्त गर्दै उनले मदन भण्डारी र जीवराज आश्रितको विचार र योगदान नेपाली कम्युनिष्ट आन्दोलनको मार्गदर्शक दीपस्तम्भ बनेको उल्लेख गरे।
सामाजिक सञ्जालमार्फत ओलीले मदन–आश्रित शारीरिक रूपमा अहिले हामीमाझ नभए पनि उनीहरूले स्थापित गरेको वैचारिक विरासत आज पनि जीवित रहेको बताएका हुन्।
उनले लेखेका छन्, “जनताको बहुदलीय जनवाद एक सिजनको लोकप्रियता आर्जन गर्ने औजार होइन, यथार्थको धरातलमा टेकेर उभिएको विचार हो। यसको वैचारिक विरासतले हामीलाई अझै पनि निरन्तर अगाडि बढ्न, विचलित नभई जनताको पक्षमा उभिन र परिवर्तनको यात्रालाई अधुरो हुन नदिन प्रेरित गरिरहेको छ।”
अध्यक्ष ओलीले जनताको बहुदलीय जनवाद (जबज)लाई ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने अभियानका रूपमा अघि बढाइएको बताएका छन्।
उनका अनुसार जबजले नेपाली राजनीतिमा नयाँ वैचारिक भाष्य निर्माण गर्दै आन्दोलनलाई बलियो आवाज दिएको र परिवर्तनको सपनालाई जनताको जीवनसँग जोड्ने मार्गचित्र तयार गरेको थियो। पछिल्लो दशकमा त्यस अभियानले मानवीय तथा भौतिक पूर्वाधार विकासमा महत्वपूर्ण परिवर्तन ल्याउन थालेको दाबी पनि उनले गरेका छन्।
ओलीले मदन भण्डारी आफ्नो नेता, साथी र सहयोद्धा भएको उल्लेख गर्दै जीवराज आश्रितलाई कुशल संगठकको रूपमा स्मरण गरेका छन्।
उनले दासढुंगाको रहस्यमय घटनाले दुई महत्वपूर्ण नेताको निधन भए पनि उनीहरूको विचार, संघर्ष र राजनीतिक योगदान अझै पनि नेपाली कम्युनिष्ट आन्दोलनको प्रेरणाको स्रोत बनेको बताएका छन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस