बैतडी - बैतडीको मेलौली नगरपालिका–१ स्थित सौडानी खोलामा जिप दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।

बुधबार राति करिब ८ बजे डडेल्धुराबाट पञ्चेश्वरतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ज १६३८ नम्बरको जिप अनियन्त्रित भएर सडकबाट करिब ३० देखि ३५ मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

दुर्घटनामा पञ्चेश्वर गाउँपालिका–२ की ३५ वर्षीया सुना मंगोलाको मृत्यु भएको हो । गम्भीर घाइते भएकी उनको प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा उपचारका क्रममा राति ८ः३५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा जिप चालक पञ्चेश्वर गाउँपालिका–२ महाकालीका ३६ वर्षीय सन्तोष राम लुहारसहित ६ जना घाइते भएका छन् ।

घाइतेमध्ये २२ वर्षीया सोमनी मंगोला, ११ वर्षीय अविनास राम लुहार र १६ वर्षीय निरज बस्केलको अवस्था मध्यम रहेको छ । यस्तै, २४ वर्षीय करन सिंह मंगोला र २२ वर्षीय सुनिल बस्केलको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

घाइते सबैको प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा उपचार भइरहेको छ । दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।