काठमाडौं - सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने पहिलो खेलमा जनकपुर बोल्ट्स र लुम्बिनी लायन्स भिड्दैछन् भने दोस्रो खेलमा विराटनगर किंग्स र काठमाडौं गुर्खाजबीच प्रतिस्पर्धा हुनेछ ।
पहिलो खेल दिउँसो १ बजे सुरु हुनेछ । जारी प्रतियोगितामा अपराजित रहेको लुम्बिनी आज पनि जितको लय कायम राख्ने लक्ष्यमा हुनेछ । उसले अहिलेसम्म तीन खेल खेलेकोमा दुई जित निकालेको छ भने वर्षाका कारण एक खेल रद्द भएको छ ।
लुम्बिनीले पहिलो खेलमा सुदूरपश्चिम रोयल्सलाई पराजित गरेको थियो । दोस्रो खेल वर्षाका कारण रद्द भएपछि चितवन राइनोजसँग अंक बाँडेको थियो । तेस्रो खेलमा पोखरा एभेन्जर्सलाई हराउँदै ५ अंकसहित अंकतालिकाको शीर्ष स्थानमा रहेको छ ।
यता जनकपुरले अहिलेसम्म चार खेल खेलेको छ । उसले दुई जित र दुई हार व्यहोरेको छ । पहिलो खेलमा कर्णाली याक्ससँग पराजित भएको जनकपुरले दोस्रो खेलमा काठमाडौं गुर्खाज र तेस्रो खेलमा पोखरा एभेन्जर्सलाई हराएको थियो । चौथो खेलमा भने विराटनगर किंग्ससँग पराजित भएको थियो ।
जनकपुर ४ अंकसहित अंकतालिकाको चौथो स्थानमा छ । आजको खेल जित्दै ऊ अंकतालिकामा आफ्नो स्थिति सुधार गर्ने योजनामा हुनेछ । आजको दोस्रो खेलमा साँझ ५ बजे विराटनगर किंग्स र काठमाडौं गुर्खाज आमनेसामने हुनेछन् ।
चार खेल खेलेको विराटनगरले दुई जित र दुई हार व्यहोरेको छ । पहिलो र दोस्रो खेलमा क्रमशः चितवन राइनोज तथा कर्णाली याक्ससँग पराजित भएको विराटनगरले तेस्रो खेलमा सुदूरपश्चिम रोयल्स र चौथो खेलमा जनकपुर बोल्ट्सलाई हराएको थियो । विराटनगर ४ अंकसहित तालिकाको दोस्रो स्थानमा छ ।
काठमाडौंले भने अहिलेसम्म दुई खेल खेलेको छ । पहिलो खेलमा जनकपुरसँग पराजित भएको काठमाडौंले दोस्रो खेलमा कर्णाली याक्सलाई हराएको थियो । आज विराटनगरलाई हराउँदै अंकतालिकामा आफ्नो स्थिति बलियो बनाउने लक्ष्यका साथ काठमाडौं मैदान उत्रनेछ ।

.gif)


