काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालका दुई छिमेकी मुलुकका समकक्षीसँग खोप उपलब्ध गराउन लिखित र मौखिक आग्रह गरेकी छन् । राष्ट्रपति भण्डारीले बुधबार भारत तथा चीनका राष्ट्रपतिसँग संवाद गरि नेपाललाई खोप उपलब्ध गराइदिन आग्रह गरेकी हुन् ।

राष्ट्रपति भण्डारीले भारतीय समकक्षी रामनाथ कोविन्दलाई पहिला फोन गरेकी हुन् । खोपको लागि पत्राचार समेत गर्दै खोप आपूर्तिका लागि विशेष पहल गर्न अनुरोध गरेकी हुन् ।

त्यसपछि राष्ट्रपति भण्डारीले चिनियाँ समकक्षी सी जिङपिङलाई फोन गरेर खोप उपलब्ध गराउन आग्रह गरेकी हुन् । करीव पौने एक घण्टाको टेलिफोन संवादमा राष्ट्रपति भण्डारीले कोभिड– १९ विरुद्धको खोप उपलब्ध गराउन चिनियाँ राष्ट्रपतिलाई विशेष आग्रह गरेकी हुन् ।

जवाफमा चिनियाँ राष्ट्रपतिले नेपाल चीनको अभिन्न मित्र रहेको भन्दै नेपाललाई आवश्यक सहयोग गर्न तत्पर रहेको बताएका छन् ।