भारतीय अधिकारीद्वारा नेपाली भूमिलाई 'आफ्नो क्षेत्र’ दाबी गर्दै पत्र
काठमाडौं - नेपालको राजनीतिक तथा प्रशासनिक भूभागअन्तर्गत रहेको गुन्जी, कालापानी, लिम्पियाधुरालाई ‘आफ्नो क्षेत्र’ उल्लेख गर्दै उक्त क्षेत्रमा नेपाली गुट/समूह अवैध रूपमा घुसपैठ गरिरहेको भन्दै उक्त आवागमनबारे सूचना दिन धार्चुलास्थित भारतीय प्रशासनले दार्चुला जिल्ला प्रशासनलाई ‘ध्यानाकर्षण पत्र’ पठाएको छ ।
उत्तराखण्ड राज्यको पिथौरागढ जिल्ला धार्चुला तहसिल कार्यालयका उपजिल्लाधिकारी अनिलकुमार शुक्लाले सीमावर्ती दार्चुलाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) लाई सम्बोधन गरी पत्र पठाएका हुन् ।
परराष्ट्र मन्त्रालयले भने दार्चुला जिल्ला प्रशासनलाई भारतको स्थानीय तहले लेखेको पत्रबारे औपचारिक जानकारी नरहेको बताएको छ । मन्त्रालयका एक उच्च अधिकारीले गृह मन्त्रालयमा बुझेर मात्रै यसबारे जानकारी दिन सकिने प्रतिक्रिया दिए । तर गत असार ३० मा लेखिएको उक्त पत्रबारे गृह मन्त्रालय तथा दार्चुला जिल्ला प्रशासन जानकार छ । पत्रको विवरण र आशयबारे जानकारी भए पनि भारतीय प्रशासनले भनेझैं लिम्पियाधुरासम्मको नेपाली भूभागमा नेपाली नागरिक आवागमनबारे भारतलाई जानकारी दिइरहनु नपर्ने दार्चुला जिल्ला प्रशासनको बुझाइ छ ।
‘केही दिन पहिले नै नेपालीको आवागमनबारे सूचना दिन आग्रह गरिएको पत्र प्रशासनलाई आएको छ,’ दार्चुलाका प्रजिअ शरदकुमार पोखरेलले कान्तिपुरसँग भने, ‘उक्त क्षेत्रमा नेपाली नागरिक गएको बारे भारतलाई सूचना दिन मैले आवश्यक ठानेको छैन । हाम्रो भूमिमा नेपाली नागरिकलाई आवतजावत गर्न नेपाल सरकारको कुनै प्रकारको प्रतिबन्ध छैन । त्यस्तो ठाउँमा जुनसुकै नेपाली नागरिक स्वतन्त्रतापूर्वक जान पाउने ग्यारेन्टी नेपालको संविधानले गरेको छ ।’ कोही स्थानीय व्यक्ति कामविशेषले गएको हुन सक्ने बताउँदै प्रजिअ पोखरेलले दार्चुला जिल्लाभित्र प्रशासनको अनुमति लिएर जानुपर्ने कुनै भूगोल नभएकाले भारतको स्थानीय प्रशासनले लेखेको पत्रको ‘जवाफ’ फर्काउनुपर्ने आधार नरहेको बताए ।
पत्रमा ‘नेपाली गुट/समूहले लुकीछिपी सीमा पार गर्न लागेको सूचना आफ्नो विशेष सूत्रबाट जानकारीमा आएकाले यसबारे जानकारी भए सूचना दिन’ आग्रह गरिएको छ । यी समूहले मिडियाको ध्यान आकृष्ट गरी दुवैतिरका अधिकारीका लागि समस्या निम्त्याउन चाहेको पनि पत्रमा उल्लेख छ । जिल्लाको माथिल्लो भागतिर कुनै पनि समूहले अनुमति लिएर नगएको तर स्थानीयले आफ्नो क्षेत्रमा गर्ने हिँडडुलको अभिलेख राख्ने नगरिएको दार्चुला प्रशासनले जनाएको छ ।
‘कोरोना संक्रमणका माझ लकडाउनको समय भएकाले कोही रोजगारीकै लागि पनि सीमापार गएको जिल्ला प्रशासनको रेकर्डमा भेटिन्न । व्यास जान बाटोको समस्या रहेको अवस्थामा सो स्थानमा हाल आवतजावत गर्न सकिने सम्भावना नै नभएकाले उक्त क्षेत्रमा नेपाली समूह प्रवेश गरेको भन्ने कुरामा कुनै सत्यता छैन,’ प्रजिअ पोखरेलले भने । भारतले नै अतिक्रमण गरेको नेपाली भूमि गुन्जीमाथिको क्षेत्रमा नेपालीलाई प्रवेशमा भारत स्वयंले पहिलेदेखि नै रोक लगाउँदै आएको छ ।
भारतले अहिले आफ्ना नागरिकलाई समेत कालापानीलगायत लिपुलेक क्षेत्रमा जान नदिएको स्थानीय बताउँछन् ।
छाङरुभन्दा करिब ७ किलोमिटर यतै छिलालेकभन्दा माथिको क्षेत्रलाई ‘नोटिफाई एरिया’ तोकेर भारतले बिनाअनुमति त्यहाँ कसैलाई जान दिएको छैन । लकडाउन भएकै बेला उक्त क्षेत्रमा नेपाली प्रवेश गर्ने कुनै सम्भावना नरहेको स्थानीयसमेत बताउँछन् ।
गुन्जी भारतद्वारा अतिक्रमित नेपाली भूमिको प्रवेशद्वारसमेत हो । त्यहाँबाट उत्तरपूर्वतिर कालापानी र लिपुलेक पर्छ । उत्तरपश्चिममा नाबी र कुटी गाउँसम्म सडक निर्माण गरिएको छ । लिम्पियाधुरा पनि त्यही क्षेत्रमा पर्छ । अहिले पनि कौवादेखि माथिको सबै नेपाली भूभाग भारतकै निगरानीमा छ । छाङरुमा रहेको सशस्त्र प्रहरीले कौवा क्षेत्रमा गस्तीमा निस्कँदा सीतापुलमा भारतीय पक्षलाई जानकारी गराएर मात्र जाने गरेको छ ।
नेपालले गत जेठ ७ मा कालापानी, लिपुलेक, लिम्पियाधुरा क्षेत्र समेटेर नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा जारी गरेपछि भारतले उक्त क्षेत्रमा सुरक्षा निगरानी बढाएको छ । गत महिना सशस्त्र प्रहरीको छाङरु बीओपी (बोर्डर अब्जरभेसन पोस्ट) बाट सुरक्षाकर्मीहरूको टोली कालापानी क्षेत्रमा गस्ती जान खोजे पनि भारतीय एसएसबीले ‘डेढ किलोमिटर वरै कालापानी क्षेत्रमा जान नदिने माथिको आदेश छ’ भनेर रोकेको थियो ।
कान्तिपुर दैनिकबाट

.gif)



फेसबुक पेज Like गर्नुहोस