नेकपा स्थायी समितिको बैठक आज, ओली उपस्थित हुने नहुने अझै अनिश्चित
काठमाडौं - सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी समिति बैठक आज दिउंसो १ बजे वस्दैछ । बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली उपस्थित हुने, नहुने अझै निश्चित छैन ।
यस अघिका वैठकमा ओली कहिले उपस्थित हुने तथा कहिले उपस्थित नहुने गरिरहेका छन् । पछिल्लो पटक तीन दिनअघि वसेको बैठकमा ओली उपस्थित भएका थिए । तर, त्यो वैठकमा राजनीतिक विषयमा छलफल भएको थिएन । पार्टी नेता कमानसिं लामाको शोक प्रस्ताव पारित गरेर आजको लागि वैठक तोकिएको थियो ।
पाटीमा विवाद चर्किरहेकै बेला हिजो सरकारले संवैधानिक परिषद्सम्बन्धि अध्यादेश ल्याएपछि त्यसले पार्टी भित्र र बाहिर विवाद थप चर्र्काएको छ । अर्का अध्यक्ष प्रचण्डले ओलीको नियतप्रति शंका गर्दै अध्यादेश तुरुन्त खारेज हुनु पर्ने माग गरेका छन् । आजको वैठकको मूल एजेण्डा नै अध्यादेश बन्ने निश्चित भएको छ । ओली इतरका प्रमुख नेताहरुले हिजै अध्यक्ष प्रचण्डको निवासमा अनौपचारिक वैठक वसेर अध्यादेशको कडा विरोध गरिसकेका छन् । दाहालसहित माधवकुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम र नारायणकाजी श्रेष्ठले बुधबारको स्थायी समिति बैठकमा अध्यादेश मुद्दा चर्काउने निर्णय गरेका छन् ।
नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले स्थायी समिति बैठक चलिरहेकाबेला पार्टीसँग छलफल नगरी अध्यादेश ल्याउनु गलत भएको बताउँदै यही विषय बैठकको एजेन्डा बन्ने स्पष्ट पारेका छन् । ‘स्थायी समिति बैठकमा अध्यादेशका विषयमा गंभिर छलफल हुन्छ र उपयुक्त निर्णय लिइन्छ । सरकारले अध्यादेशको औचित्यपुष्टि गर्न सकेन भने अध्यादेश फिर्ता हुन्छ, हुनुपर्छ’ उनले भने ।
बुधबारको बैठकमा सरकारविरुद्ध प्रस्ताव पारित गर्ने र रोक्ने प्रयास भए स्थिति थप टकरावपूर्ण हुने देखिएको छ । तर, संसदिय दलका उपनेता सुवास नेम्वाङ लगायतका आली पक्षीय नेताहरुले अध्यक्ष दाहाललाई भेटेर विवादलाई दुई अध्यक्षले नै मिलेर सुल्झाउन अपिल गरिसकेका छन् ।
फेसबुक पेज Like गर्नुहोस