काठमाडौं - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि विरोध हुनेगरी कुनै कामै नगरेको बताएका छन् ।

नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

जारी बैठकमा ओलीले सम्बोधन गर्दै गर्दा एकजना नेताको मोबाइल फोन बजेपछि ओलीले झपार्दै भने- ‘म अनुशासनकै कुरा गरिरहेको छु । बैठकभित्र मोबाइल बज्नुहुँदैन । आलोचनात्मक चेत हराएका झोलेहरू एमालेमा बस्छन् । खोई बोलेका ? भन्छन् । केपी ओलीले विरोध गर्नुपर्ने काम नै गर्दैनन् त के प्रश्न गर्ने ?हामी यस्तो कुराबाट प्रभावित हुनुहुँदैन ।’

ओलीले एमालेमा आलोचनात्मक हराएकाहरू बस्छन् भनेर बाहिर हल्ला फैलाइएको पनि बताए ।

ओलीले भने- ‘महाधिवेशनमा प्यानल बनाएर प्रतिस्पर्धा पनि भयो । तर अब केन्द्रीय कमिटीमा प्यानल छैन । यो देश हाँक्ने केन्द्रीय कमिटी हो । यसैले एमालेमा अब कुनै प्यानल छैन ।’

सो बैठकमा बोल्दै ओलीले महाधिवेशनमा प्यानल बनाएर प्रतिष्पर्धा गरे पनि अब कुनै प्यानल नरहेको बताए ।