काठमाडौं - नेकपा एमालेका नेता महेश बस्नेतविरुद्ध कैलालीको धनगढीमा पनि जेनजीहरू प्रदर्शनमा उत्रिएका छन् ।

बुधबार राष्ट्रिय युवा संघले आयोजना गरेको युवा जागरण अभियानलाई सम्बोधन गर्न बस्नेत धनगढी आउने भएपछि जेनजीहरू प्लाकार्ड लिएर प्रदर्शनमा उत्रिएका हुन् ।

बस्नेतको विरोधमा धनगढीको जेनजी मार्गनजिक हसनपुरमा युवाहरूको समूहले प्लेकार्डसहित प्रदर्शन गरिरहेका छन् ।

जेनजी आन्दोलनपछि युवाहरु बस्नेतको विरोधमा निरन्तर प्रदर्शनहरू गरिरहेका छन् ।

यसअघि गत ४ मंसिरमा बाराको परवानीपुरमा आयोजित एक कार्यक्रममा सहभागी हुन बस्नेत आउने थाहा पाएपछि जेनजी युवाले प्रदर्शन गरेका थिए। जसका कारण दुई दिनसम्म बाराको सिमरा अशान्त बनेको थियो।

७ मंसिरमा विराटनगरमा बस्नेत चढेको गाडीमा दुई जेनजी युवाले रातो रङ भरिएको बेलुन प्रहार गरेका थिए।

मंगलबार मात्रै सुर्खेतमा पनि केही युवाले बस्नेत सहभागी कार्यक्रमलाई लक्षित गर्दै विरोध प्रदर्शन गरेका थिए।

जेनजी समूहले ठाउँठाउँमा अवरोध गर्न खोजेपछि बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएका छन ।